म विरुद्ध घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको छ : दाहाल

admin

रुपन्देही, २८ फागुन : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आफूमाथि घेराबन्दी गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । बुटवलमा भइरहेको राष्ट्रिय दलित पत्रकार सङ्घको पहिलो महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष दाहालले प्राप्त परिवर्तनलाई उल्टाउन परिवर्तनका लागि सङ्घर्ष गर्ने नेताहरूको बदनाम गर्ने र घेराबन्दी गर्ने काम भइरहेको दाबी गरेका हुन् ।

बाह्र बुँदे समझदारी र शान्ति सम्झौताका हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला जीवित नरहेको भन्दै अहिले आफू जीवितै भएको र परिवर्तन उल्ट्याउन सबैभन्दा धेरै घेराबन्दी आफूमाथि नै भइरहेको महसुस गरेको उनले बताए । राजनीतिमा धेरै अस्वाभाविक घटना भइरहेको भन्दै अध्यक्ष दाहालले अझै के-के अस्वाभाविक घटना देख्नुपर्ने हो भन्ने चिन्ता रहेको बताए ।

जन्माइसकेको बच्चालाई फेरि आमाको गर्भमा लगिदिने अनौठो र अस्वाभाविक परिघटना देख्नुपरेको उनको भनाइ छ । तर पनि विद्रोह गर्ने वा हिंसामा जाने नभइ शान्तिपूर्ण सङ्घर्ष गर्ने उनले प्रष्ट पारे । ‘मैले फेरि विद्रोहमा जाने कुरा गरेको होइन तर पाएको उपलब्धि कसैले कुल्चिन नपाओस् भन्नाका लागि शान्तिपूर्ण रङ्गीन क्रान्ति आवश्यक छ’, उनले भने ।

अध्यक्ष दाहालले शान्तिपूर्ण आन्दोलनका लागि तयार रहन दलित समुदायलाई आग्रहसमेत गरे । ‘दलितको साथ नभएको भए आन्दोलन सफल हुने थिएन’, उनले भने, ‘त्यसैले अब फेरि प्रतिगमनतिर लैजान खोज्नेविरुद्ध दलित समुदायको एकता आवश्यक पर्नेछ ।’

प्रतिक्रिया