ओलीका साइबर सेनाबाट होसियार, ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेछन् : माधव नेपाल

admin

काठमाडौं, ४ चैत्र : नेपाल कम्युनिस्ट पार्टी एमाले नेता माधवकुमार नेपालले केपी शर्मा ओलीका साइबर सेनाहरूबाट होसियार हुन आग्रह गरेका छन् । उनले ओलीका साइबर सेनाले अहिले पनि भ्रम फैलाइरहेको भन्दै नेकपा हुँदा मात्रै साइबर सेना रहेको भनेर आफुले बुझेपनि त्यो गलत रहेको बताए । बुधबार एमालेको आफुपक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीमा अहिले गम्भिर प्रश्न खडा हुनुमा अध्यक्ष ओली नै जिम्मेवार रहेको दावी गरे ।

‘उहाँको चिन्तन, व्यवहार, कार्यशैली कस्तो छ ? कस्तो रहँदैछ भन्ने अनुभव धेरै योद्धाहरूसँग रहेका छन्’ उनले ओलीमा आई एम द पार्टी भन्ने तानाशाही प्रवृत्ति देखाएको दावी गरे । ‘अहंकार गुटगत प्रवृति, पार्टी एकतालाई स्वार्थ सिद्ध गर्ने, जबज सिध्याउने काम गर्नुभयो । आज तपाई जबजको हिमायती भन्नुहुन्छ, यस्ता नक्कली कुरामा कोही भ्रममा नपरौं’ नेपालको भनाई छ ।

‘फेक सूचना जारी गरी भेला स्थगित गरेको भनेर भ्रम फैलाइयो । ओलीका साइबर स्यालहरु अहिले पनि ज्यूँदै रहेछन् । बाँचिरहेका रहेछन् । हिजोमात्रै नेकपा हुँदा मात्रै होलान् भनेको होइन रहेछ । होसियार । भोलि पनि साइबर स्यालहरुबाट यस्तै गलत सूचना आउनेछन् । अलमलमा पार्नेछन् । तर अल्मलिन जरुरी छैन’ कार्यकर्तालाई नेपालको आग्रह छ । उनले ओलीसँगको लडाई पदका लागि नभई विधि, सिद्धान्त, विचार, लक्ष्यसँग र इमानदारितासँग जोडिएको भन्दै लडाईंको अग्निपरीक्षामा उत्तिर्ण भएरै छाड्ने पनि बताए । ओलीबाट पीडितहरु बीचको एकता भएको भन्दै नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी कस्तो र कसरी चलाउनुपर्छ भनेर बहस भइरहेको छ ।’

उनले जबज र राष्ट्रिय पुँजीवादको कुरा गरेपनि दलाल पुँजीवादको पक्ष पोषणमा लागेका ओली एकताको कहिल्यै पक्षपाती नभएको र लडाउने भिडाउने काममा लागेको बताए । ‘हुँदाहुँदा प्रधानमन्त्रीको कुर्सी बचाउन संविधान नै सक्ने योजनामा लाग्नुभयो’ नेता नेपालले ओलीका सबै हर्कतहरुबारे भेलामा छलफल गर्ने बताए ।

नेता नेपालले आफूहरूले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेला स्थगित भयो भनेर ‘फेक’ सूचना जारीसमेत गरेकोमा आपत्ति जनाएका हुन् । ‘योगेश भट्टराईको नक्कली हस्ताक्षरसहित टाँसेर फेक सूचना सम्प्रेषण गरिरहेका थिए,’ ललितपुरमा भएको कार्यकर्ता भेलामा उनले भने, ‘४ र ५ गतेको भेला स्थगित गरिएको छ भनेका थिए । म आफैँ पनि हेरेँ के पो आएछ ? सही फोटोकपी गरेर टाँसेर सम्प्रेषण गरिएको रहेछ ।’ उनले भ्रमपूर्ण समाचार तथा पोस्टमा नपर्न आग्रह गरे । पार्टी निर्माणसँग जोडिएको लडाइँमा आफूहरू रहेकोले यो पदको लडाइँ नभएको उनले बताए ।

प्रतिक्रिया