आज शेयर बजार ४० अङ्कले बढ्यो

admin

काठमाडौं, ४ चैत्र : शेयर बजार परिसूचक नेप्से बुधबार ४० अङ्कले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ४० दशमलव चार अङ्कले बढेर २४ सय ३२ दशमलव १४ विन्दुमा पुगेको छ ।

बुधबार बैंकिङ समूहको शेयर १९ अङ्कले, व्यापार समूहको ४२, होटल तथा पर्यटनको एक सय १२, विकास बैंकको २६, जलविद्युतको ३१, फाइनान्सको १३, माइक्रो फाइनान्सको एक सय १३, उत्पादनको ९८, जीवन बीमाको तीन सय ७२, निर्जीवन बीमा समूहको दुई सय २४, अन्यको ४७ र लगानी समूहको शेयर झण्डै डेढ प्रतिशतले बढेको छ ।

बुधबार दुई सय १२ कम्पनीका ८६ लाख २६ हजार कित्ता शेयर तीन अर्ब ३७ करोड ४५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै निफ्राको २० करोड रुपैयाँको शेयर कारोबार भयो ।बुधबार चन्द्रागिरि हिल्ससहित ६ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि घलेम्दी हाइड्रो कम्पनीको शेयर झण्डै नौ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया