लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् : दाहाल

admin

काठमाडौं, ८ चैत : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले पहिचान र अधिकारको मुद्दा नछाडेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडाँमा दलित मुक्ति मोर्चाद्वारा आयोजित ५६औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मूलन दिवस (२१ मार्च) र नेपाली दलित आन्दोलनको कार्यदिशा विषयक अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले अधिकार र पहिचानको मुद्दा नछाडेको बताएका हुन् ।

दलित र महिलालाई विशेषाधिकार दिनका लागि आफूले पहल गरेको पनि उनको भनाइ छ । विशेषाधिकारवविना महिला र दलितले वास्तविक अर्थमा अधिकार सम्पन्न हुने अभियानमा प्रतिस्पर्धा गर्न सक्दैनन् भनेर संविधान सभाको माइनटमा नै ‘नोट अफ डिसेन्ट’ राखी भविष्यमा यसको निम्ति आन्दोलन गर्ने बाटो खुला राखेको भए पनि आफूले मुद्दा छाडेको भनी प्रचार भएको अध्यक्ष दाहालको भनाइ छ । प्राप्त अधिकारको उपयोग गर्दै बाँकी अधिकारको निम्ति लड्ने नीति लिएको भन्दै उनले विशेषाधिकार र पहिचानको मुद्दा नछाडेको स्पष्ट पारे ।

उनले भने, ‘तपाईँहरूलाई प्रचण्डले हाम्रो छाड्यो भन्ने लाग्दो हो, त्यो साँचो होइन । मैले जति आन्दोलनको बलबाट र आजको राजनीतिक परिस्थितिमा प्राप्त हुन सक्ने जति अधिकार चाहिँ लिने र बाँकी अधिकारको निम्ति आन्दोलन जारी राख्ने नीति लिएको हो, अरू केही पनि होइन । न मैले विशेषाधिकार छाडेको छु, न मैले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा सबै उत्पीडितहरूले पाउनुपर्ने पहिचान र अधिकारको मुद्धा छाडेको छु । मैले जति प्राप्त हुन सक्थ्यो त्यति चाहिँ लिइ हालौँ, त्यसभन्दा अगाडि चाहिँ फेरि आन्दोलन अगाडि बढाइराख्नुपर्ने हुन्छ र हामीले संविधानलाई पनि एउटा गतिशील र परिवर्तनशील दस्तावेजको रूपमा संविधान संशोधनको माध्यमबाट परिमार्जन गर्दै लैजाने र उत्पीडितहरूको अधिकार र पहिचानलाई स्थापित गर्दै लैजाने बाटो अपनाएको मात्रै हो । तपाईँहरूले गहिरो गरी विचार गर्नुभयो भने यो कुरा बेठिक भनेर बहस गर्ने ठाउँ हुन्छ भन्ने मलाई लागेको छैन ।’

अध्यक्ष दाहालले संविधानमा दलित, महिला, मधेशी, आदिवासी जनजातिलाई अधिकार दिएको कतिपयलाई मन नपरेका कारण संविधान च्यात्न लागेको बताए । नेपालको संविधान स्वीकार गर्न नसक्ने देशी-विदेशीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रयोग गरेर संविधान र गणतन्त्र सिध्याउन खोजिएको पनि उनले आरोप लगाए ।

उनले भने, ‘हिजोका गणतन्त्र विरोधी, सामन्तवादका दलालहरू, देशभित्रका र देशबाहिरका प्रतिक्रियावादीहरू पनि जसले यो संविधानलाई स्वीकार्न सकेका छैनन् । विचार गर्नुहोला, ती सबै मिलेर एउटा धार बनेको छ र ती सबैले नेपालमा यो संविधानलाई निस्तेज पार्न सक्ने मान्छे खोज्दै जाँदा उनीहरूले केपी ओली भेटेका छन् । केपी ओली नै रहेछन् यो संविधान सिध्याउन सक्ने, गणतन्त्र पनि सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई उनीहरूको हक अधिकारलाई सिध्याउन सक्ने । अहिले केपी ओलीलाई प्रतिनिधिको रूपमा त्यो धारको प्रतिगामी, प्रतिक्रान्तिकारी, निरङ्कुश, लोकतन्त्रविरोधी, समावेशी समानुपातिक विरोधी सारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न सक्ने पात्रको रूपमा केपीजीलाई साथ लिएका छन् उनीहरूले । कति दिन लिन्छन् मलाई थाहा छैन । अहिले चाहिँ लिएकै छन् ।’

नेपाली नागरिकले आत्मनिर्णयको अधिकार खोज्नुपर्ने अवस्था आएको अध्यक्ष दाहालको भनाइ छ । दलित, आदिवासी, जनजाति, श्रमिकलगायतको विरुद्धमा षड्यन्त्र भएको भन्दै उनले त्यसको विरुद्ध आफू बाँचुञ्जेल लड्ने पनि बताए । संविधानमाथि प्रहार गरेर सबैको अधिकार उल्ट्याउन खोजिएको उनको भनाइ छ ।

प्रतिक्रिया