राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान

admin

काठमाडौं, ९ चैत : राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गरेकी छिन् । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी सोमबार बिहान त्यसतर्फ गएकी हुन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनालगायत उच्च पदस्थ अधिकारीले विदाई गरेका थिए ।

नेपाल वायु सेवा निगमको विमानबाट बंगलादेश गएकी राष्ट्रपति भण्डारी स्थानीय समयअनुसार बिहान १० बजे ढाकास्थित हजरत सहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नेछिन् । राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका समकक्षी अब्दुल हमिद र बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रले स्वागत गर्नेछन् ।

राष्ट्रपति भण्डारी त्यहाँ राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्म शताब्दी विशेष समारोहका अवसरमा जान लागेकी हुन् । राष्ट्रपति भण्डारीले समकक्षी हमिदसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ भने प्रधानमन्त्री शेख हसिना लगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति भण्डारीको भ्रमणका क्रममा दुई देशबीच पर्यटन प्रवद्र्धन, सांस्कृतिक सहयोग आदानप्रदान, रोहनपुर–सिंहबाद ‘रेल रुट’ सञ्चालन, पशुपंक्षीसँग सम्बन्धित ‘स्यानिटरी’ र वनस्पति जगत्मा रोगव्याधी फैलिन नदिने प्रावधान ‘फाइटो स्यानिटरी’ अर्थात् स्यानिटरी एन्ड फाइटो स्यानिटरी मेजर्ससहित तीनवटा बेग्लाबेग्लै समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । त्यहाँ हुने सम्झौतालाई मन्त्रिपरिषद्का पछिल्ला बैठकले अनुमोदन गरिसकेको छ ।

प्रतिक्रिया