नेपालले लकडाउन गरेको एक वर्ष भइसक्दा पनि कोरोना संक्रमणको जोखिम फेरि पुरानै अवस्थामा

admin

काठमाडौं, ११ चैत : कोरोना संक्रमणका कारण नेपालले लकडाउन गरेको एक वर्ष पुगेको छ । गएको वर्ष चैत ११ गतेदेखि कोरोना भाइरस नियन्त्रण गर्न भन्दै लकडाउन गरिएको थियो । कोरोनाको जोखिम फेरि बढेको छ । लकडाउनको वर्ष दिन बित्न नपाउँदै फेरि दोस्रो लहरको डर बढेको छ ।

कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिए पछि भारतका केही ठाउँमा लकडाउन लागू गरिएको छ । भारतसँगको खुला सिमानाकाका कारण पनि नेपालमा कोरोना संक्रमणको उच्च जोखिम परेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डाक्टर सागर राजभण्डारीले बताएका छन् ।

भारतमा कार्यरत नेपाली घर फर्किने क्रम बढेको छ । फर्किनेहरुमा संक्रमण भएको हुन सक्ने भएकाले जोखिम बढ्ने डाक्टरले बताउँदै आएका छन् । घर फर्किनेहरुको नाकामा नै स्वास्थ्य परीक्षण गरिने भनिए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । सरकारले भारतसँगका मुख्य १४ नाकामा निगरानीलाई कडा पारेको छ ।

भारतमा संक्रमण फैलिएपछि नेपालले जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गर्दै आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सभा, जुलुस, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने व्यवसाय र काम नगर्न भनेको छ । सरुवारोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले सतर्कता नअपनाए भारतमा जस्तै नेपालमा संक्रमण फैलिन सक्ने बताए । जनस्वास्थ्यका मापदण्ड पालना हुन छोडेकाले जोखिम थप बढेको उनले बताए ।

यो भन्दा अगाडि नेपालमा पटकपटक गरी चार महिनासम्म लकडाउन भएको थियो । अन्य देशमा लकडाउनलाई खुकुलो बनाएसंँगै गएको साउन ६ गतेदेखि एक सय २० दिन लामो लकडाउन भने अन्त्य भयो । लकडाउन हटेपछि बजार पसल खुले । ढिलो गरी भए पनि शैक्षिक संस्था खुले । सबै क्षेत्रमा चहलपहल बढ्यो ।

पछिल्लो समय कोरोना भाइरसको संक्रमणदर घट्दै पनि गयो । तर, भारतसहित विश्वका विभिन्न देशमा कोरोनाको दोस्रो लहर फैलिएसँगै नेपाल फेरि एक वर्ष अगाडिकै अवस्थामा पुगेको छ । गत वर्ष भारतका सीमा क्षेत्रमा कडाइ नगर्दा नेपालमा संक्रमण फलिएको थियो ।

अब पनि त्यस्तै अवस्थाको डर भएकाले अनिवार्य मास्क लगाउन र स्यानिटाइजरको प्रयोगमा डाक्टर जोड दिँदै आएका छन् । सरकारले जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्ने तयारी गरेको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै आइसोलेशन र क्वरेण्टीनलाई तयारी अवस्थामा राख्न गृह मन्त्रालयले निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया