विपत्तिले चुनौती थपे पनि नेपालले विकासको लक्ष्य भेट्छ : परराष्ट्र मन्त्री

admin

काठमाडौं, ३१ चैत : परराष्ट्र मन्त्री तथा सरकार प्रवक्ता प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्राकृतिक विपत्ति र कोरोना महामारीको बाबजुद पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौती थपे पनि नेपालले विकासको लक्ष्य भेट्ने बताए ।

नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहे पनि सन् २०३० को अन्त्यसम्ममा दिगो विकासका लक्ष्य भेट्टाउने उनले विश्वास व्यक्त गरे । नेपालमा विकास अनुसन्धान प्रतिष्ठानजस्ता संस्थाहरूले नेपालको विकासको सम्भावना र चुनौती पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउन ठूलो भूमिका खेल्न सक्ने मन्त्री ज्ञवालीले बताए ।

नेपालको विकासमा अध्ययन अनुसन्धानको ठूलो महत्त्व रहेको भन्दै मन्त्री ज्ञवालीले भइरहेको विकासको अड्चन फुकाउन पनि यस्ता संस्था सहयोगी हुने बताए । नेपालले सन् २००४ मा स्थापना गरेको विकास अनुशन्धान प्रतिष्ठानले सरकार र सरकारका विभिन्न निकायलाई नीतिगत सहयोग गर्दै आएको छ ।

विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूलाई संस्थागत संरचनामा गोलबन्द गरी विकास निर्माण, योजना तर्जुमा, जलवायु परिवर्तन, गरिबी निवारण, प्राकृतिक विपत्ति न्यूनीकरण जस्ता क्षेत्रमा नीतिगत सुझाव दिँदै आएको छ ।

प्रतिक्रिया