वार्ता जारी : होटलको झ्यालबाट धरहरा हेर्दै ओली र नेपाल

admin

काठमाडौं, ९ बैशाख : नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार पनि राजधानीको होटल मेरियटमा वार्ता चलिरहेको छ । (हिजो) बुधबार पनि ओली-नेपालबीच सोही होटलमा वार्ता भएको थियो । बिहीबार पनि वार्ताका लागि दुबै नेता अपरान्ह मेरियट पुगेका छन् ।

उनीहरू होटलमा पुगेको केही समयपछि प्रधानमन्त्री ओलीको सचिवालयले एउटा तस्बिर सार्वजनिक गरेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेको तस्बिरमा प्रधानमन्त्री ओलीले र नेता नेपाल कोठाको झ्यालबाट बाहिर हेरिरहेका छन् । थापाले दुबै नेताले धरहरा हेरिरहेको बताएका छन् ।

तस्बिर राखेर थापाले लेखेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं सांसद माधवकुमार नेपाल संयुक्त रूपमा नागपोखरीस्थित मेरियट होटलको भेटघाट कक्षको झ्यालबाट सुन्धारामा नवनिर्मित धरहराको दृश्यावलोकन गर्नु हुँदै ।’

बिहीबार बिहान पानी परेकाले दिउँसो काठमाडौंको आकाश खुला छ । आकाश खुलेपछि उत्तरतिरका हिमाल पनि देखिएका छन् । २०७२ को भूकम्पमा भत्किएको धरहराको हालै पुनर्निर्माण सकिएको छ । नवनिर्मित २२ तले धरहराको प्रधानमन्त्री ओलीले ११ गते उद्घाटन गर्दै छन् ।

प्रतिक्रिया