अक्सिजन उत्पादक भन्छन्, सिलिन्डर उपलब्ध भए नेपालकै उद्योगले अक्सिजनको माग धान्छ !

admin

काठमाडौं, १४ बैशाख : अक्सिजन उत्पादकहरूले आवश्यक सिलिन्डर उपलब्ध भए नेपाललाई पुग्ने अक्सिजन उत्पादन गर्न समस्या नरहेको जनाएका छन् । उत्पादनका लागि आवश्यक पूर्वाधारसहित सिलिन्डरको व्यवस्थापन हुनुपर्ने उत्पादकहरूको माग छ ।

आफूहरूले पहिलेदेखि नै सिलिन्डर र अरू पूर्वाधारबारे सरकारको ध्यानाकर्षण गराएको भए पनि सरकारले वास्तै नगरेको नेपाल अक्सिजन उत्पादक सङ्घका महासचिव एवम् सगरमाथा अक्सिजन उद्योगका सञ्चालक नारायणदत्त तिमिल्सिनाले बताएका छन् ।

उनले देशभर रहेका २० वटै प्लान्ट निरन्तर सञ्चालन भएमा माग धान्न खासै समस्या नपर्ने बताए । तर त्यसका लागि अहिलेदेखि नै उत्पादन बढाएर भण्डारण गरेर राख्नुपर्ने उनको भनाइ छ । अहिले कतिपय प्लान्ट मर्मत गर्नुपर्ने र उत्पादन भइहाले पनि भण्डार गरेर राख्ने ठाउँ नै नरहेको तिमिल्सिनाले बताए ।

सरकारले नेपालमा उत्पादन बढाउन उद्योगीलाई प्रोत्साहन दिने उद्देश्यले भन्सार छुट गर्ने निर्णय गरेको छ । तर अहिले अक्सिजन उत्पादनको भन्दा पनि सिलिन्डरको समस्या धेरै रहेकोले तत्काल ३० देखि ४० हजार सिलिन्डर आयात गर्नुपर्ने व्यवसायीको भनाइ छ ।

कोरोना भाइरसको संक्रमण जुनसुकै अवस्थामा पुगे पनि देशभित्रकै उत्पादित अक्सिजनले पुग्ने सरकारले दाबी गरेको छ । भारतमा अक्सिजनको अभाव भएर धेरै संक्रमितले ज्यान गुमाउनु परिरहेको भए पनि नेपालमा अक्सिजन ग्यास उत्पादनमा कुनै समस्या नरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए ।

अक्सिजन उत्पादनबारे आफूहरुले उद्योगीहरुसँग नियमित छलफल गरिरहेको भन्दै उनले नेपालमा चाहिने जति अक्सिजन देशभित्रै उत्पादन भइरहेको बताए । अक्सिजन प्लान्ट रहेका अस्पतालहरुमा पूरै उत्पादन गर्नुपर्ने र प्लान्ट नभएका अस्पतालले तत्काल अक्सिजन लिएर राख्न गौतमको आग्रह छ । यसैबीच, सरकारले नेपालमा पिलक्विड अक्सिजन निर्यातमा लगाएको प्रतिबन्ध हटाइदिन भारतलाई पत्राचार गरेको छ ।

भारतीय पक्षले भने एक हप्ता पर्खन आग्रह गरेको छ । नेपालमा भारतको झारखण्डमा रहेको लिन्ड इन्डिया अक्सिजन प्लान्टबाट हरेक महिना १५० टन अक्सिजन आपूर्ति हुँदै आएको थियो । तर पछिल्लो समय भारतको केन्द्र सरकारले अक्सिजन निर्यातमा रोक लगाएको छ । अहिले भारतबाट लिक्विड अक्सिजन र सिलिन्डर आउन रोकिएपछि नेपाल सरकारले औपचारिक पत्र पठाएको हो ।

प्रतिक्रिया