कोरोना महामारी नियन्त्रणका लागि बन्दाबन्दीलगायतका अभियान पर्याप्त छैन : ‘विप्लव’

admin

काठमाडौं, १६ वैशाख : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको बन्दाबन्दीलगायतका अभियान आफैमा पर्याप्त नभएको जनाएको छ ।

महासचिव ‘विप्लव’ले विहीबार (आज) प्रेस विज्ञप्ती जारी गरेर कोरोना महामारी रोकथामका लागि बन्दाबन्दीलगायका अभियान पर्याप्त नभएको जनाएको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘कोरोना महामारीले नेपाल फेरि आक्रान्त भएको छ र बन्दाबन्दीको अवस्थामा जान बाध्य भएको छ । यो अवस्थासँग जुध्न सरकारले बन्दाबन्दीलगायत अभियान सञ्चालन गरेको छ । तर, त्यो आफँैमा पर्याप्त देखिँदैन ।’

त्यस्तै, महामारी रोकथाम तथा न्यूनीकरणका लागि मुख्यतः भारतलगायत विदेशबाट नेपाल प्रवेश गर्ने आप्रवासीलाई नियन्त्रण गर्न, आएकालाई एकान्तबासमा राख्ने व्यवस्था मिलाउन र संक्रमित सबैको उपचार गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘महामारीसँग जुध्न सामाजिक परिचालन अभियानका रूपमा सरकारले स्वयम्सेवकहरू परिचालन गर्ने व्यवस्था गर्नु आवश्यक हुन्छ । यसप्रकारको सामाजिक अभियान सञ्चालन गर्ने अवस्थामा हाम्रो पार्टी सहयोग गर्न तयार रहेको पनि अवगत गराउन चाहन्छु ।’

प्रतिक्रिया