लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले राजीनामा दिएसँगै नयाँ सरकार गठनको गृहकार्यमा

admin

काठमाडौं, १९ बैशाख : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको छ । आइतबार लुम्बिनी प्रदेशको विशेष अधिवेशन सुरु हुँदै छ ।

त्यसअघि नै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै अविश्वासको प्रस्तावमाथि मतदान हुने सम्भावना टरेको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिएका हुन् । माओवादीबाट एमाले प्रवेश गरेका दुई र जसपाबाट मन्त्री बनेका चार सांसद कारबाहीमा परेपछि लुम्बिनी प्रदेशसभा अहिले ८१ सदस्यीय छ ।

एकल बहुमतको सरकार बनाउने गृहकार्य
लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो । जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ ।

यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्देहीका जिल्ला इञ्जार्ज दधिराम न्यौपानेले बताएका छन् । उनले अब नेकपा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु हुने बताए ।

प्रतिक्रिया