नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर अभाव

admin

बाँके, १९ बैशाख : नेपालगञ्जमा रहेको भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट डाक्टरसतिहको टोली सहयोगका लागि नेपालगञ्ज जाँदै छ । प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा. प्रवीण गिरी नेतृत्वको डाक्टर तथा स्वास्थ्यकर्मीको टोली नेपालगञ्ज जान लागेको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ डाक्टर र स्वास्थ्यकर्मीको टिम भेरी अस्पतालमा खटाइन लागिएको हो । ‘सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गराउनुभएको थियो’, प्रतिष्ठानका निमित्त निर्देशक डा. राजिव शाहले भने, ‘त्यहीअनुसार सघन उपचार विभागकै इञ्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको हो ।’

प्रमुख गिरीसहित डा. अरुण श्रेष्ठ, डाक्टर हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका हुन् । मौसमले साथ दिए (आज) आइतबार नै नेपालगञ्ज जाने तयारी गरिएको छ । ‘झण्डै १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ’ डा. गिरीले भने ।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । यो टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेछ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ ।

प्रतिक्रिया