अल्पमतका मुख्यमन्त्रीलाई स्वीकार गर्दैनौँ : विपक्षी गठबन्धन

admin

रुपन्देही, २० बैशाख : लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले अल्पमतको मुख्यमन्त्रीलाई अस्वीकार गर्ने र केन्द्रको निर्देशनअनुसार थप राजनीतिक र कानुनी कदम चाल्ने बताएका छन् । माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले बुटवलमा सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै असंवैधानिक, अलोकतान्त्रिक कदमका विरुद्ध कानुनी र राजतीतिक लडाइँ लड्ने बताएका हुन् ।

सरकार बाहिर रहेका दलहरूले मुख्यमन्त्रीमा शङ्कर पोखरेलको नियुक्ति र शपथ असंवैधानिक र अलोकतान्त्रिक भएको बताएका छन् । प्रदेश सभा छलेर मुख्यमन्त्री बनेका पोखरेललाई प्रदेश सभाबाटै हटाउने विपक्षी गठबन्धनको दाबी छ । ४२ सांसदको हस्ताक्षरलाई लत्याएर ३७ जनाको समर्थन रहेका पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नु असंवैधानिक, अराजनीतिक मात्रै नभइ लोकतन्त्रको ह’त्या नै हो कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले भने ।

धर्नामा बसेका महिला सांसदमाथि बल प्रयोग गरेर हिंसा गरेको भन्दै संयुक्त गठबन्धनले प्रदेश प्रहरी प्रमुख रविन्द्र धानुकलाई निलम्बन गरेर कारबाही गर्न माग गरेको छ । विपक्षी गठबन्धनको धर्ना, विरोध र नाराबाजीका बीच प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री कार्यालयमै पुगेर पोखरेललाई शपथ गराएका थिए । मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गरिसकेका छन् ।

सोमबारको पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कनौडिया, माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता तारा जिसी सहभागी थिए ।

प्रतिक्रिया