महन्थ ठाकुर पक्षद्वारा हस्ताक्षर अभियान सुरु, आज साझसम्म सांसद र केन्द्रीय सदस्य काठमाडौं आइपुग्ने

admin

काठमाडौं, २० बैशाख : जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षले कार्यकारिणी समितिका सदस्य र सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेपछि जसपा महन्थ ठाकुर पक्षको व्यस्तता एकाएक बढेको छ । काठमाडौंमा रहेका कार्यकारिणी सदस्य तथा सांसदको हस्ताक्षर संकलन सुरु भएको छ भने उपत्यका बाहिर रहेका कार्यकारिणी सदस्य र सांसदलाई (आज) सोमबार साँझसम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको छ ।

जसपाको पार्टी कार्यालयमा कार्यरत प्रदीप पाठकले (महन्थ ठाकुर निकट) पार्टीका अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा कार्यकारिणी सदस्य र सांसदहरुलाई फोन गरेर जानकारी संकलन गरिरहेको जसपाका एक सांसदले बताए । पार्टी अध्यक्षकै निर्देशन छ भने आउनै पर्‍यो भन्दै काठमाडौंका लागि हिँडेको उनले बताए । जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि कार्यकारिणी सदस्य र सांसदको हस्ताक्षर गरेर लुम्बिनीका चारजना प्रदेशसभा सदस्य र पार्टीका नेतालाई कारवाही गरिसकेका छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने प्रयोजनका लागि पनि उपेन्द्र-बाबुराम पक्षले हस्ताक्षर संकलन गरेको नेताहरु बताउँछन् । त्यसैगरी अर्का अध्यक्ष महन्थ ठाकुरले पनि केपी ओलीको पक्षमा आफ्ना पक्षका सांसद तथा पार्टीका कार्यकारिणी समितिका सदस्यहरुको हस्ताक्षर संकलन गर्न सुरु गरेका हुन् । प्रधानमन्त्री ओलीले १२० जनाको मुद्दा फिर्ता गरेपछि जसपाको ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने संकेत देखिएको छ ।

विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले प्रकृया सुरु गरेपछि महन्थ ठाकुर पक्षले ओलीलाई समर्थन गर्ने नेताहरु बताउँछन् । जसपामा ३४ जना सांसद छन् त्यसमध्ये रेशम चौधरी जेलमा छन् भने हरिनारायण रौनियार निलम्बनमा परेका छन् । बाँकी रहेका ३२ मध्ये १६ जना सांसद उपेन्द्र यादव नेतृत्वको पूर्व समाजवादी पार्टीको रहेका छन् भने १६ जना महन्थ ठाकुर नेतृत्वका पूर्वराजपासँग छन् ।

पूर्वराजपाका १६ जनामध्ये २ जना पूर्वसमाजवादी पार्टीतिर लागेको स्पष्ट भएको छ । उता पूर्वराजपावालाहरुले ७/८ जना पूर्वसमाजवादीका सांसदहरु आफूतिर आउने दाबी गरेका छन् । अहिलेसम्म त्यो निश्चित भएको छैन । जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिमा २५ जना पूर्वसमाजवादी पार्टीका छन् भने २६ जना पूर्वराजपाका छन् । तर, पूर्वराजपाबाट तीनजनाले पूर्वसमाजवादी पार्टीलाई साथ दिएका कारण पार्टीभित्र बाबुराम-उपेन्द्र पक्षको बहुमतमा देखिएको छ ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले बहुमत पुर्‍याउनका लागि हरसम्भव प्रयास गरिरहेका छन् । त्यसका लागि कार्यकारिणी समितिका नेता तथा सांसदहरुलाई काठमाडौं बोलाएका हुन् । सोमबार साँझसम्म सबैजना काठमाडौं आइसकेपछि मंगलबार जसपाको पार्टी कार्यालय बबरमहलमा ठाकुर पक्षले बैठक बोलाएको स्रोतले बताएको छ ।

प्रतिक्रिया