समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रद्वारा यस्तो प्रतिक्रिया

admin

काठमाडौं, २२ बैशाख : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्रलाई माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले संघीय संसद प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई बुधबार बुझाएका हुन् ।

पत्र बुझाएपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक गुरुङले प्रधानमन्त्रीका एकपछि अर्का संविधान प्रतिकुलका कदमहरूले राष्ट्रियता, लोकतन्त्र, जनजीविका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले समर्थन फिर्ता लिएको बताए ।

सोही क्रममा उनले भने, ‘प्रधानमन्त्रीले असंवैधानिक कामकारवाही धेरै गर्दै जानुभयो । लोकतान्त्रिक मूल्यमान्यताको उलंघन गर्नुभयो । संसद भंग गर्नुभयो । सर्वोच्च अदालतले असंवैधानिक भनेर ठहर गर्दा पनि उहाँले राजीनामा गर्नुभएको छैन । फागुन २३ गते सर्वोच्च अदालतले दल विभाजन गरिदियो । त्यसपछि ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने त्यो पनि लिनुभएन ।’

‘सबै हिसाबले गर्दा संवैधानिक परिषद्का अध्यादेशहरू जारी गर्ने र अध्यादेश मार्फत् सरकार सञ्चालन गर्न खोज्ने, सदनलाई निश्कृय बनाउँदै लैजाने प्रकारको रवैयाको साथै नियमित अधिवेशन बोलाउनुपर्ने बेलामा विश्वासको मत लिने भन्ने नाममा एउटा एजेण्डाका लागि अधिवेशन डाकिएको छ । संविधानमा सरकारले विशेष अधिवेशन डाक्ने व्यवस्था छैन । यसरी प्रधानमन्त्रीले चालेका संविधान प्रतिकूलका कदमहरुको कारण राष्ट्रियता, लोकतन्त्र, जनजीविका लगायतका मुद्दामा गम्भीर खतरा पैदा भएर अन्ततः राष्ट्रिय स्वाधीनताकै मुद्दा गम्भीर खतरामा पर्दै गएकाले आजका मितिबाट लागुहुने गरी समर्थन फिर्ता गरेका हौँ ।’

प्रतिक्रिया