अब राष्ट्रियसभा उपनिर्वाचनमा बादल र देवकोटाको भिडन्त

admin

काठमाडौं, २२ बैशाख : राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाउने भएको छ । नेकपा एमालेको खनाल-नेपाल पक्षका देवकोटालाई कांग्रेस माओवादीको पनि समर्थन रहने छ ।

मंगलबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधव कुमार नेपाल र उपेन्द्र यादव बीचको छलफलबाट देवकोटालाई विपक्षी गठबन्धनको साझा उम्मेदवार बनाउने सहमति भएको हो ।

पार्टी परित्याग गरी एमाले लागेपछि माओवादी केन्द्रले रामबहादुर थापा बादललाई राष्ट्रियसभा सदस्यबाट पद मुक्त गरेको थियो । एमालेले सोही पदमा थापालाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । विपक्षी गठबन्धनले थापाको प्रतिद्वन्द्वीका रुपमा देवकोटालाई अगाडि सारेको हो ।​

लुम्बिनी प्रदेशमा एमालेको सांसदबाट राजीनामा दिइ कांग्रेस प्रवेश गरेका नेता दूगनारायण पाण्डेलाई राष्ट्रियसभा सदस्य बनाउने सहमति भएपछि बागमतीमा खनाल नेपाल पक्षका देवकोटालाई उम्मेदवार बनाइएको राष्ट्रियसभाका माओवादी संसदीय दलका नेता दिनानाथ शर्माले जानकारी दिएका हुन् । ०७६ असारमा देवकोटाले बागमती प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका देवकोटा वित्तिय संघीयता व्यवस्थापनका विज्ञ मानिन्छन् ।  देवकोटाले अर्थशास्त्रमा एमए, आर्थिक विश्लेषणमा एमएसी र विकास अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । स्थानीय निकाय वित्तीय आयोगमा लामो समय विज्ञ भई कार्य गरेका देवकोटाले प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगमा पनि विज्ञ सल्लाहकारका रुपमा काम गरिसकेका छन् ।

प्रतिक्रिया