बालुवाटार जग्गा प्रकरण : दीप बस्न्यातलाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

admin

काठमाडौं, २४ बैशाख : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको आरोपमा अख्तियारले पूर्वप्रमुख आयुक्त बस्न्यातविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतले गएको मंसिर २८ गते बस्न्यातलाई थुनामा राख्न आदेश दिएपछि उनका तर्फबाट अधिवक्ता रमण श्रेष्ठ र कृष्ण सापकोटाले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।

बस्न्यातमाथि भौतिक पूर्वाधार सचिव भएका बेला बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने निर्णय मन्त्रिपरिषदमा लैजान तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारसमक्ष फाइल पेस गरेको आरोप छ । सर्वोच्चको आदेशमा बस्न्यात ६९ वर्षको ज्येष्ठ नागरिक रहेको, मुटु सम्बन्धि समस्या रहेको, परिवारका सदस्यलाई कोरोना संक्रमण भएको लगायतका कारणले थुनामा राख्न उचित नदेखिएको उल्लेख छ ।

प्रतिक्रिया