जसपा सरकारमा नजाने सहमति, मौका पाए आफ्नै नेतृत्वमा सरकार बनाउने पहल !

admin

काठमाडौं, ४ जेठ : जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच केपी ओली नेतृत्वको सरकारमा सहभागी नहुने सहमति भएको छ । पार्टी सरकारमा सहभागी हुने र नहुने सम्बन्धमा व्यापक तर्क वितर्क एवम् अड्कलबाजी भइरहेको बेला दुई नेताबीच भएको छलफलबाट पार्टी तत्काल सरकारमा सहभागी नहुने सहमति बनाएको हो ।

दुई अध्यक्षद्वारा जारी विज्ञप्तिमा पार्टी प्रतिपक्षमा नै रही आफ्नो भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ । तर राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्था भएमा नेतृत्व लिन पछि नहट्ने दुई नेताबीच सहमति भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको र विश्वासको मत सम्बन्धी प्रस्तावलाई फेल गराएर जसपा नेपालकै नेतृत्वमा बहुमतको सरकार बनाउन अघि सर्नुपर्ने अध्यक्ष यादवको प्रस्तावमा ठाकुर सहमत बनेको बताइएको छ ।

जसपा नेपालको नेतृत्वमा सरकार बनाउन पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले पहल गर्ने प्रस्ताव पनि अध्यक्ष यादवको थियो । तर, यी प्रस्तावप्रति अध्यक्ष ठाकुर सन्तुष्ट नरहेको स्रोतले बताएको छ । माओवादी केन्द्र र कांग्रेस कुनै पनि हालतमा जसपा नेपालको नेतृत्वलाई स्वीकार गर्दैनन् भन्दै ठाकुरले यादवलाई ‘यसअघि पनि कुराकानी भएकै हो तर उहाँहरु (माओवादी केन्द्र र कांग्रेस)ले चासो देखाउनु भएन’ भन्ने जवाफ दिएका थिए ।

दुई नेताबीचको छलफलपछि अध्यक्ष ठाकुरलाई भेटेका जसपा नेपालका एक सांसदले भनेका छन्, ‘महन्थ ठाकुरले उपेन्द्रजीको प्रस्ताव स्वीकार पनि गर्नुभएको छैन, अस्वीकार पनि गर्नुभएको छैन ।’ उनका अनुसार ठाकुरले ‘ठिक छ, पहल गर्नु राम्रो हो तर मलाई लाग्दैन कि कांग्रेस र माओवादी केन्द्र यसमा सहमत हुन्छन्’ भनेका थिए ।

यस्तै संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको विषयमा पनि छलफल गर्न सकिने ठाकुरको भनाइ रहेको बताइएको छ । सत्ता समीकरणका लागि अध्यक्षद्वय ठाकुर र यादवको अलग अलग धारणा थियो । अध्यक्ष ठाकुरले ओलीको विकल्पमा अर्को सरकार गठन नगर्ने अडान लिएका थिए भने अर्का अध्यक्ष यादव जसरी पनि ओलीको बहिर्गमन हुनुपर्ने अडानमा थिए ।

उनीहरुले आ-आफ्नो पक्षमा बहुमत सिद्ध गर्न हस्ताक्षर अभियान पनि चलाएका थिए । कार्यकारिणी समितिमा अध्यक्ष यादवको बहुमत देखिएको छ भने संसदमा अध्यक्ष ठाकुरको बहुमत छ । दुई अध्यक्षको विज्ञप्तिमा पार्टीमा उत्पन्न भएका समस्याहरुलाई आफू संगठित रहेको पार्टीभित्र छलफल गरी पार्टी विधान अन्तरगत रहेर समाधन गरिनुपर्नेमा पनि जोड दिइएको छ ।

यस्तै पार्टीभित्र कसैले पनि व्यक्तिगत स्वार्थ सिद्ध गर्नका लागि गुटबन्दी गर्ने, पार्टी नेताहरुविरुद्ध भ्रम फैलाउनेजस्ता कार्य अन्त्य गरी पार्टीलाई एकताबद्ध बनाउने विषयमा पनि दुई नेताबीच सहमति भएको छ । यता प्रधानमन्त्री ओलीले (हिजो) सोमबार राति १० बजे अध्यक्ष ठाकुरलाई एक्लै बालुवाटार बोलाएर आगामी रणनीतिबारे छलफल गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालय स्रोतका अनुसार, जसपा नेता ठाकुरसँग झण्डै एक घण्टा कुराकानी भएको थियो। प्रधानमन्त्री ओलीले आफ्नो पुरानो रणनीतिमा केही फेरबदल भएको संकेत जसपा नेता ठाकुरलाई दिनका लागि बालुवाटार बोलाएका हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री ओली तत्काल विश्वासको मत लिने, त्यसमा जसपा तटस्त बस्दा आफूले विश्वासको मत नपाउने अवस्था आउने र त्यसो भएका संविधानको धार ७६ को उपधारा ५ बमोजिम राष्ट्रपतिबाट बहुमत सिद्ध गर्ने प्रतिनिधिसभा सदस्यलाई नयाँ सरकारका लागि आह्वान हुने तर महन्थ ठाकुर तटस्त बसिदिँदा कुनै पनि सदस्यले बहुमत नपाउने अवस्था आउने रणनीतिमा थिए ।

पछिल्ला राजनीतिक घटनाक्रमहरुका कारण ओली विश्वस्त हुन नसकेपछि उनले रणनीति फेर्नेबारे छलफल शुरु गरेका हुन् । जसअनुसार, उनी अब महन्त ठाकुरलाई तटस्त बस्न होइन कि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । एमालेको १२१ र ठाकुरका १७ जना सांसदहरुले ओलीको सरकार बहुमतमा पुग्छ । बहुमतका लागि १३६ जना सांसदको आवश्यकता छ । तर, पछिल्ला राजनीतिक घटनाक्रमहरुका कारण ओली विश्वस्त हुन नसकेपछि उनले रणनीति फेर्नेबारे छलफल शुरु गरेका हुन् ।

जसअनुसार, उनी अब महन्त ठाकुरलाई तटस्त बस्न होइन कि आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् । एमालेको १२१ र ठाकुरका १७ जना सांसदहरुले ओलीको सरकार बहुमतमा पुग्छ । बहुमतका लागि १३६ जना सांसदको आवश्यकता छ । स्रोतका अनुसार, सोमबार मध्यरातिको बैठकमा ओलीले जनता समाजवादी पार्टीले पार्टीगत रुपमै आफ्नो सरकारलाई समर्थन गर्न ठाकुरलाई आग्रह गरेका थिए ।

पार्टीगतरुपमा समर्थन गर्न पार्टीमा र संसदीय दलमा बहुमत आवश्यक हुन्छ । संसदीय दलमा ठाकुरको बहुमत भए पनि पार्टीमा संख्या तलमाथि भइरहेको अवस्था छ । यस्तो अवस्थामा महन्तले पार्टीगतरुपमै ओलीलाई समर्थन रहेको पत्र लेख्दा ओलीको सरकार संविधानको धारा ७६ को २ अनुसार बन्न जाने र त्यसले तत्काल प्रतिनिधिसभा भंगको घोषणा नहुने अवस्था रहन्छ ।

अध्यक्ष ठाकुरले ओलीलाई आफूले पार्टीगतरुपमै पत्र लेखरे समर्थन गर्दा जसपा औपचारिकरुपले विभाजन हुने र आफ्नो कदमबाट विभाजनतिर जान आफू तयार नभएको संकेत दिएका छन् । ‘यो सल्लाहमात्र हो’, प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘७६ २० को सरकार बनाउने कि विघटनमा जानलाई तत्काल विश्वासको मतको आह्वान गर्ने भन्ने निर्णय चाडै हुने बताएका छन् ।’

प्रतिक्रिया