चीनले सहयोग गरेको सिलिन्डरमा मन्त्रीले टाँसे आफ्नै फोटो !

admin

काठमाडौं, ११ जेठ : चीन सरकारले नेपाललाई दिएको अक्सिजन सिलिन्डर लगायतका स्वास्थ्य सामग्रीमा आफ्नो फोटोसहितको स्टिकर टाँसेपछि वनमन्त्री प्रेम आलेको चौतर्फी आलोचना भइरहेको छ । गत बैशाख २१ गते चीनले नेपालमा हरियो रंगको २ हजार थान खाली अक्सिजनको सिलिन्डर पठाएको थियो ।

मन्त्री आलेले त्यसमा व्यक्तिगत खर्चमा स्वास्थ्य सामग्री दिएको सन्देश जाने गरी स्टिकर टाँसेर आफ्नो चुनाव क्षेत्रमा पठाएका छन् । चीनले दिएको स्वास्थ्य सामग्री र अक्सिजन सिलिन्डरमा मन्त्री आलेले टाँसेको स्टिकरमा-‘नेपाल सरकारका माननीय बन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेज्यूको ब्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको छ ।

उनले आफ्नो निर्वाचन क्षेत्र डोटीमा त्यसरी स्टिकरसहितको स्वास्थ्य सामग्री पठाएका छन् । ७५ थान अक्सिजन सिलिन्डर, डेढ लाख संख्याका सर्जिकल मास्क, औषधीहरु, एन्टिजेन किट, सेनिटाइजर लगायतका स्वास्थ्य सामग्री पुर्‍याएका छन् ।

बेला-बेला उट्पट्याङ भाषण गरेर चर्चामा आउने गरेका मन्त्री आले यस्तो विषयले फेरि सामाजिक सञ्जालको निशानामा परेका हुन् । सोच बिचार नै नगरी दिने अभिव्यक्तिका कारण पनि उनी सामाजिक सञ्जालमा मजाकको विषय बन्दै आएका छन् । उनले सार्वजनिक मञ्चमा गरेका भाषणका क्रममा बोलेका यी कुरा जसले उनलाई आलोचित बनायो ।

अभिव्यक्ति दिँदा आफू चिप्लन थालेपछि आफू जोगिन उनले लिखित भाषण पढ्न थालेका थिए । तर, उनको त्यो आइडियाले पनि काम गरेन । पछिल्लो पटक अक्सिजन अभावमा अस्पतालहरुमा कोरोना संक्रमितको ठूलो संख्यामा मृत्यु भइरहेका बेला उनले अक्सिजनको व्यवस्था गर्ने कुरा छोडेर ‘आर्यघाटमा दाउरा अभाव हुन नदिन’ निर्देशन दिएपछि चर्को आलोचना बेहोरे ।

उनले नेपाल बन निगमका महाप्रबन्धक धन्नजय पौडेललाई आर्यघाटमा दाउरा अभाव नहुन निर्देशन दिएका थिए । अहिले फेरि चुनाव प्रचार शैलीमा स्वास्थ्य सामग्रीमा आफ्नो विज्ञापन गरेपछि उनी चौतर्फी आलोचनाको शिकार भएका छन् । वनमन्त्री रहेका आलेमाथि काठ तस्करीको आरोप समेत लाग्दै आएको छ ।

प्रतिक्रिया