बजेट कार्यान्वयन गरेर देखाउने अर्थमन्त्री पौडेलको दावी

admin

काठमाडौं, १६ जेठ : अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन गर्ने योजना, प्रतिवद्धता र संकल्पका साथ ल्याएको दावी गर्नुभएको छ । आगामी आर्थिक बर्ष २०७८- ७९ का लागि सरकारले ल्याएको बजेटका सन्दर्भमा आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले बजेट कार्यान्वयन हुँदैन कि भनेर शंका नगर्न समेत आग्रह गर्नुभयो ।

उहाले कोभिड महामारीको नियन्त्रण रोकथाम र उपचारमा नै केन्द्रित हुनुपर्ने भएकाले त्यसैअनुरुप बजेट केन्द्रित गरिएको जानकारी दिनुभयो । मन्त्री पौडेलले कोभिडका विरुद्धको खोपका सम्बन्धमा असाधारण पहलकदमी लिएर खोपसेवा उपलब्ध गराउनेमा केन्द्रित भएर लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री पौडेलले वर्तमान सरकारलाई पूर्ण बजेट ल्याउने अधिकार नभएकाले कामचलाउ बजेट ल्याउनुपर्ने टिप्पणी गर्ने गरेको भन्दै संविधानले गरेको प्रबन्धअनुसार नै बजेट ल्याएको धारणा राख्नुभयो ।

उहाले सरकारले चुनावका लागि आवश्यक बजेट विनियोजन गरेको र स्वतन्त्र निष्पक्ष ढंगले निर्वाचन सम्पन्न गर्न सम्पूर्ण सामथ्र्य परिचालन गरिने उल्लेख गर्नुभयो ।

अर्थमन्त्री पौडेलले कोरोनाले असर पारेको अर्थतन्त्रलाई पुरानै लयमा फर्काएर अर्थतन्त्र चलायमान बनाउँदै समृद्धिको सपना साकार पार्ने योजना अनुरुप बजेट ल्याइएको धारणा राख्नुभयो । यसअघि शनिबार सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया