रक्सी चोरेको फोटो सार्वजनिक भएपछि असईसहित तीन प्रहरी निलम्बित

राष्ट्रिय समाचार समिति

सिरहा, १७ जेठ : प्रहरी आचरण विपरीत कार्य गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सिरहाले प्रहरी सहायक निरीक्षक (असई) सहित तीन प्रहरी कर्मचारीलाई निलम्बन गरी कारबाही अघि बढाएको छ ।

निषेधाज्ञाको समयमा लहान नगरपालिका २३ गढिया चोकमा रहेको पूजा मदिरा पसलमा हो-हल्ला गर्ने व्यक्तिलाई पक्राउ गर्न गएका बेला त्यो मदिरा पसलबाट प्रहरीले रक्सी चोरेको भन्दै सामाजिक सञ्जालमा फोटो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले तीनै जना प्रहरीलाई निलम्बन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) शालिग्राम शर्माका अनुसार त्यहाँ काममा खटिएका प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नुकुमार राय र नरेशकुमार रायलाई निलम्बन गरिएको छ ।

प्रहरीका आचरण विपरीत कार्य गरेको पाइएकाले प्रहरी नियमावली २०७१ बमोजिम तीनै जनालाई निलम्बन गरी थप अनुसन्धान भइरहेको डीएसपी शर्माले बताए ।

प्रतिक्रिया