वरिष्ठ अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन

admin

काठमाडौं, १८ जेठ : वरिष्ठ अर्थविद् डा. गोविन्दबहादुर थापाको निधन भएको छ । डा. थापाको बाँसबारीमा रहेको गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा मंगलबार बिहान निधन भएको हो । कोरोना संक्रमण देखिएपछि एक महिनाअघि अस्पताल भर्ना भएका थापालाई पछिल्लो १५ दिनदेखि भेन्टिलेटरमा राखिएको थियो ।

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक थापा मनमोहन अधिकारी नेतृत्वको ९ महिने अल्पमत सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीका आर्थिक सल्लाहकार थिए । थापाले एसियाली विकास बैंकको मनिलामा रहेको कार्यालयमा आवासीय प्रतिनिधिका रुपमा समेत काम गरेका थिए ।

अब्बल वामपन्थी अर्थशास्त्री थापा पछिल्लो समय भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सामाजिक कार्यमा आवद्ध थिए । थापाले लामो समयदेखि नेपाली अर्थतन्त्रबारे राष्ट्रिय स्तरका पत्रपत्रिका र अनलाइन माध्यममा निरन्तर कलम चलाउँदै आएका थिए । कास्कीका स्थायी बासिन्दा उनी अहिले भने काठमाडौंको बसुन्धरामा बस्दै आएका थिए ।

प्रतिक्रिया