विभाजन नजिक पुगेको एमाले फेरि सहमतिको पहलमा

admin

काठमाडौं, १८ जेठ : विभाजनको नजिकै पुगेको सत्तारुढ नेकपा एमालेमा फेरि सहमतिको पहल सुरु भएको छ । माधव नेपाल समूहका नेताहरुले प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेपछि अवरुद्ध भएको सहमतिको प्रयास फेरि सुरु भएको हो ।

संस्थापन पक्षले नेताहरु नेपाल र झलनाथ खनालसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको छ भने अरु १२ जनालाई स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरणको जवाफ दिएका छैनन् । स्पष्टीकरण नदिने उनीहरुलाई समेत कारबाही गर्ने तयारी भइरहँदा दुवै पक्षका दोस्रो तहका नेताहरु सहमतिको प्रयासमा लागेका हुन् ।

(हिजो) सोमबार बेलुकी पनि ओली र नेपाल समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको छ । पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने प्रयासमा नेताहरु छलफलमा जुटेका हुन् । सहमतिको पहल भइरहे पनि निष्कर्ष भने आइनसकेको नेताहरुको भनाइ छ ।

यसअघि एमालेले पार्टीविरुद्ध गतिविधि गरेको, कांग्रेसलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको, प्रतिनिधि सभा विघटनविरुद्ध अदालत गएको तथा ह्वीप उल्लङ्घन गरेको भन्दै खनाल र नेपालसहित ११ जनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिसकेको छ ।

लगत्तै देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने अरु नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, भवानी खापुङ, यज्ञराज सुनुवार, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, झपट रावल, दीपकप्रकाश भट्ट र विरोध खतिवडालाई पनि एमालेले स्पष्टीकरण सोधेको छ । तर उनीहरुले स्पष्टीकरण बुझाएका छैनन् ।

प्रतिक्रिया