मन्त्रिपरिषद्ले पायो पूर्णता, यस्तो बन्यो ओली नेतृत्वको क्याबिनेट

admin

काठमाडौं, २७ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । ओलीले एमाले, पूर्वमाओवादी समूह र जसपाका समेत नेता समेटेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । मन्त्रीहरूको (आज) बिहीबार नै चार बजे शपथ ग्रहण हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

गृह मन्त्रीमा खगराज अधिकारी, सञ्चारमा रामबहादुर थापाकी पत्नी नैनकला थापा र उद्योग मन्त्रीमा जसपाका राजकिशोर यादव नियुक्त भएका छन् । यस्तै गणेश पहाडी सामान्य प्रशासन मन्त्री, नारदमुनि राना वन मन्त्री, ज्वालाकुमारी साह कृषि, मोहन बानियाँ विना विभागीय र आशा विक वन राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।

यसअघि माओवादी केन्द्रमा रहेकी ज्वाला साह प्रदेश सभा सदस्यमा पराजित भएका थिए तर साहलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री बनाएका हुन् । यस्तै प्रधानमन्त्रीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेपनि रक्षा मन्त्रालय भने आफै विस्तार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीको गत बैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन मन्त्रिपरिषद् विस्तार गरेको राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् ।

गृहमा खगराज अधिकारी, सञ्चारमा बादल पत्नी नैनकला
ओली नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएका खगराज अधिकारीको वरियता पाँचौ नम्बरमा रहेको छ । उनलाई सरकारको सिफारिसमा राष्ट्रपतिले बिहीबार गृहमन्त्रीमा नियुक्त गरेकी हुन् । कास्कीमा उनी ओलीका विश्वास पात्र मानिन्छन् ।

रामबहादुर थापा बादललाई सर्वोच्चले सांसद नरहेको भन्दै पदमुक्त गरिदिएपछि अधिकारीको गृह मन्त्रालयमा प्रवेश भएको हो । यता बादलले भने पत्नी नैनकला थापालाई मन्त्री बनाउन सफल भएका छन् । नैनकला सञ्चार तथा सूचनाप्रविधि मन्त्री नियुक्त भएकी हुन् । उनको ओली सरकारमा १४ औं नम्बरको वरियता रहेको छ ।

जसपाका ३ जनापछि नवनियुक्त मन्त्री राजकिशोरको वरियता
जसपाका नेता राजकिशोर यादवको केपी ओली सरकारमा प्रवेश भएको छ । ओली नेतृत्वको सरकारमा उद्योगमन्त्री भएका उनको वरियता १० औं नम्बरमा रहेको छ । जसपाका तीन मन्त्रीपछि उनको वरियता परेको हो ।

उनीअघि जसपाका वरिष्ठ नेता समेत रहेका उपप्रधानमन्त्री राजेन्द्र महतोको वरियता चौथो नम्बरमा रहेको छ । यस्तै ऊर्जामन्त्री शरतसिंह भण्डारीको छैटौँ र अनिलकुमार झाको वरियता आठौं नम्बरमा रहेको छ ।

प्रतिक्रिया