बाढी-पहिरो पीडितको उद्धार, राहत वितरणको काम प्रभावकारी बनाउन विपक्षी गठबन्धनद्वारा माग

admin

काठमाडौं, ३ असार : प्रतिपक्षी दलका शीर्ष नेताहरूले बाढी, पहिरो र डुबानबाट नागरिकको सुरक्षा गर्न र विस्थापितका लागि तत्काल आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेका छन् । दलका नेताहरूले बिहीबार संयुक्त विज्ञप्ति निकालेर बाढी, पहिरो र डुबानमा परेकाहरूको उद्धार र राहतका काम तत्काल प्रभावकारी रूपमा अगाडि बढाउन माग गरेका हुन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर प्राकृतिक विपत्तिको सामना गर्ने कुरामा कुनै पूर्वतयारी नगरि सरकार गैरजिम्मेवार बनेको समेत आरोप लगाएका छन् ।

गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ-आफ्ना स्थानबाट योगदान गरी पीडितलाई सहयोग पुर्‍याउन सबै पार्टीका कार्यकर्ता र सङ्घ-संस्थालाई पनि उनीहरूले आग्रह गरेका छन् ।

प्रतिक्रिया