प्रहरीलाई धम्क्याएपछि ज्वाला संग्रौलाविरुद्ध उजुरी, के हो घटनाको वास्तविकता ?

admin

काठमाडौं, ३ असार : सामाजिक अभियन्ता ज्वाला संग्रौलालगायतको समूहले प्रहरीमाथि गरेको गालीगलौजको छानबिन हुने भएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झाविरुद्ध दिएको आपत्तिजनक अभिव्यक्तिको छानबिन सुरु भएको छ ।

संग्रौलाले ‘मधेसका रहेछौं उतै गएर काम गर्नु, सजिलो पनि हुन्छ, म जसरी पनि सरुवा गरेरै देखाइदिन्छु,’ भन्दै (असई) झालाई धम्की दिएकी थिइन् । उनको उक्त अभिव्यक्तिविरुद्ध मधेसी आयोगमा (हिजो) बुधबार उजुरी परेपछि घटनाको छानबिन सुरु भएको हो ।

मधेसी आयोगले यस घटनाको बारेमा प्रहरी प्रधान कार्यालयलाई समेत सूचित गराइसकेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा एसएसपी वसन्त कुँवरले आयोगबाट अनौपचारिक रुपमा सुचना आइसकेको र लिखित जानकारी आएपछि छानबिन सुरु गरिने बताए ।

बुधबार आयोगमा दर्ता भएको उजुरीको दर्ता नम्बर १८३ रहेको आयोगका कर्मचारी दीपेन्द्र यादवले बताए । निषेधाज्ञाका बेला संग्रौलासहित चढेको गाडी रोकेर सवारी पास जाँच गरेकोमा उनीहरूले असई झामाथि गैर(सामाजिक व्यवहार गरेका थिए । राज्यले तोकेको कर्तव्य इमानदारीपूर्वक गरेका झालाई उल्टै धम्क्याएको भिडियो सार्वजनिक भएपछि संग्रौलासमूहको विरोध भइरहेको छ ।

यस्तो छ घटनाको वास्तविकता
निषेधाज्ञामा पास बिना सवारी चलाउन नमिल्ने भन्दै ड्युटिमा रहेका झाले संग्रौलाहरू चढेको गाडीको पास मागेका थिए । तर, उनीहरूले देखाउन इन्कार गरेका थिए । त्यसपछि प्रहरीले सवारी चालक अनुमति पत्र (लाइसेन्स) देखाउन अनुरोध गर्दा उनीहरुले लाइसेन्स पनि देखाउन सकेनन् ।

आवश्यक कागजात नभएपछि प्रहरीले गाडी होल्डमा राख्यो । त्यसपछि संग्रौलाको समूहले झासहित प्रहरीसँग विवाद गरेका थिए । नेपाल प्रहरीका प्रवक्ता कुँवरले आयोगबाट औपचारिक रूपमा पत्र आएपछि घटनामाथि छानबिन गरी दोषीलाई कारबाही गरिने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया