मनाङमा अड्किए भोलि विश्वासको मत लिन लागेका मुख्यमन्त्री पोखरेल

admin

काठमाडौँ, असार ३ : मनाङमा विगत केही दिनयता गएको बाढी र पहिरोको निरीक्षण गर्न गएका गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल चामेमा अड्किएका छन्। पोखराबाट बिहीबार दिउँसो राहत सामग्री लिएर गएका मुख्यमन्त्री पोखरेल, बिनाविभागीय मन्त्री राजीव गुरूङ ‘दीपक मनाङे’, सांसद चिन्तबहादुर घलेसहितको टोली चामेमा अड्किएका हुन्।

मनाङमा अचानक मौसममा खराबी आएका कारण हेलिकप्टर उड्ने अवस्था नरहेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले बताए। ‘अहिले मनाङको मौसममा एक्कासि बदली भएकाले हेलिकप्टर उद्धारमा पनि खटिन सकेको छैन’, खड्काले भने, ‘प्रभु एयरको हेलिकप्टरमा मुख्यमन्त्री फर्कने योजना थियो, उक्त हेलिकप्टर पनि बगरछापमा ल्याण्ड भएको छ।’

चामेमा अहिले पनि सिमसिम पानी परिरहेको र बादलले आकाश ढाकेको स्थानीयले बताएका छन्। जसका कारण चामेमा रहेको नेपाली सेनाको हेलिकप्टर समेत उड्न सकेको छैन। मौसम खराब भएकै कारण प्रभु एयरको हेलिकप्टर चामे पुग्न नसकेको जनाएको छ। पोखरा फर्कने अवस्था नभएकाले मुख्यमन्त्री पोखरेलसहितको टोली आज चामेमै बास बस्ने भएका छन्।

नेपाली सेनाको हेलिकप्टरले बिहीबार बिहान मनाङको सिरानतालका २४ जना र थोंचे गुम्बाबाट ११ जनाको उद्धार गरेको थियो। सेनाको त्यही हेलिकप्टरमा मुख्यमन्त्री पोखरेलसहितका टोली मनाङको बाढी र पहिरोग्रस्त क्षेत्रको निरीक्षण गर्न गएका थिए। मौसममा सुधार आउने अवस्था नभएकाले बिहीबार चामेमै बस्नुपर्ने अवस्था आएको जनाएको छ।

गत सोमबारदेखि परेको अविरल वर्षाले मनाङको चामे, तालगाउँ, धारापानी लगायतका ठाउँमा घरहरू बगाउनुका साथै डुबानमा परेका छन्।चामे र तिमाङका जलविद्युत आयोजना, एउटा बेलिब्रिज, ३ वटा काठे पुल लगायत बगाएको छ भने ५३ वटा घर क्षतिग्रस्त छन्। उक्त घरमा बस्ने करिब १ हजार जना विस्थापित हुन पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए।

बाढी र पहिरोका कारण बेंसीशहर–चामे सडक पूर्णरूपमा ठप्प छ। बाटोमा गएको पहिरोले एउटा गाउँबाट अर्को गाउँ जान नसक्ने अवस्था रहेको स्थानीयले बताएका छन्। मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेलले शुक्रबार विश्वासको मत लिँदैछन्। विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा बुधबार नै दर्ता भइसकेको छ।

मनाङमा अड्किएका मुख्यमन्त्री पोखरेल शुक्रबार बिहानै आउने र सदनको कारबाही अघि बढ्ने सरकारका प्रवक्ता खड्काले बताए। संसदमा विश्वासको मत प्रस्ताव मुख्यमन्त्रीले नै पेश गर्नुपर्ने प्रावधान छ। ‘मुख्यमन्त्रीज्यू आउन सक्नुभएन भने विश्वास अर्को दिनको कार्यसूचीमा राखिन्छ’, प्रवक्ता खड्काले भने, ‘यसबारे संसद सचिवालयमा कुरा भइसकेको छ।’

प्रतिक्रिया