आफ्नै गाउँमा डेरा खोज्न सास्ती

admin

काठमाडौं, १२ असार : ‘‘यो बर्खामा बालुवामुनि पुरिएको घर कसरी खोज्न सकिएला र रु सम्भव नदेखेर डेरा खोज्न थालेका हौँ,’’ मेलम्ची नगरपालिका–११ का स्थानीय ठाकुरप्रसाद रिजाल भन्नुहुन्छ । असार १ गतेको बाढीले आफ्नो तीनतले घर पुरेपछि विद्यालयमा बस्नुभएका रिजाल अहिले मेलम्चीमै सुरक्षित ठाउँमा कोठा खोज्न थाल्नुभएको छ ।

मेलम्ची र इन्द्रावती खोलामा आएको बाढीसँगै सीतलादेवी माध्यमिक विद्यालय, भुमेस्थान आधारभूत विद्यालय र लोकतन्त्र आधारभूत विद्यालयमा बस्नुभएका बाढीपीडित सधैँ विद्यालयमा बसेर निर्वाह नचल्ने भएपछि डेरा खोज्न थाल्नुभएको हो । आफ्नै गाउँमा बाढीपीडित भएर डेरा खोज्नु पर्ला भन्ने उहाँहरूले सपनामा पनि सोच्नुभएको थिएन । केही दिनअघिसम्म मासिक हजारौँ रुपियाँ डेराभाडा उठाउने घरबेटीको अहिले डेरा खोज्नुपर्ने अवस्था उत्पन्न भएको छ ।

त्यहाँको सबैभन्दा ठूलो विद्यालय शीतलादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक क्षेत्रप्रताप अधिकारीको संयोजकत्वमा गठित समितिले बाढीबाट क्षति पुगेको घर र जग्गा अभिलेखीकरणको कार्य सुरु गरेको मेलम्ची नगरपालिका–१०, का अध्यक्ष भक्तबहादुर खड्काले जानकारी दिनुभयो । ‘‘अहिलेसम्म हाम्रो वडाका १९ वटा घर ‘कोल्याप्स’ भएका छन्, ती घरमा बस्ने ५० भन्दा बढी परिवारको स्कुलमा बास छ,’’ अध्यक्ष खड्का थप्नुहुन्छ, “एक महिना अघिसम्म हजारौँ रुपियाँ घरभाडा उठाउने घरबेटी अहिले डेराको खोजीमा भौँतारिरहनुभएको छ ।”

सुरक्षित ठाउँमा डेरा भेट्टाउनै मुस्किल परेको गणेशप्रसाद रिजालले बताउनुभयो । उहाँ व्यावसायिक रूपमा पशुपालन गरेर बस्नुभएकाले त्यसका लागि उपयुक्त ठाउँ र टहरो बनाउन सकिने ठाउँ खोजिरहनुभएको छ । उहाँको गोठबाट चारवटा भैँसी र पाठापाठीको उद्धार गरिए पनि भाँडाकुँडा सबै बाढीले बगाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया