नेपाली श्रमिकले अब साउदीमा क्वरेण्टीन खर्च तिर्न नपर्ने

admin

काठमाडौं, १५ असार : कोरोना भाइरसविरुद्धको खोप नलगाई साउदी जाने नेपाली श्रमिकले अब होटल क्वरेण्टीन खर्च तिर्न नपर्ने भएको छ । साउदीमा रहेको नेपाली दूतावासको अनुरोधमा अब रोजगारदाताले नै खोप नलगाई आएका नेपाली श्रमिकको होटल क्वरेण्टीन खर्च तिरिदिने व्यवस्था भएको दूतावासले जनाएको छ ।

साउदीबाट बिदामा आएका र साउदी फर्कन लागेका श्रमिकले संस्थागत क्वरेण्टीन खर्चको बारेमा साउदी जानु पूर्व नै रोजगारदाता कम्पनीसँग कुरा गर्न दूतावासले भनेको छ । बिदामा आएका श्रमिकको मात्र होइन नयाँ जाने श्रमिकको समेत क्वरेण्टीन खर्च रोजगारदाताले नै व्यहोर्ने व्यवस्था भएको साउदी सरकारले जनाएको छ ।

साउदीले मे २० भन्दा पछि साउदी प्रवेश गर्ने विदेशी नागरिकले अनिवार्य खोपको दुवै मात्र पूरा गरेको हुनु पर्ने र खोप नलगाएको भएमा अनिवार्य रूपमा सात दिन आफ्नै खर्चमा संस्थागत क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको थियो ।

संस्थागत क्वरेण्टीन खर्च ३५ सय साउदी रियाल तोकिएको थियो । तर यो रकम महँगो हुने र नेपाली श्रमिकलाई संस्थागत क्वरेण्टीन खर्च तिर्न गाह्रो हुने भन्दै दूतावासले साउदीको सम्बन्धित निकायसँग श्रमिकले खर्च तिर्नु नपर्ने व्यवस्था गरिदिन अनुरोध गरेको थियो ।

दूतावासको अनुरोध पश्चात् साउदी सरकारले अब संस्थागत क्वरेण्टीन खर्च रोजगारदाताले नै तिरिदिने औपचारिक जानकारी गराएको भन्दै सम्भावित ठगीबाट बच्न साउदी जाने सबैलाई दूतावासले सचेतसमेत गराएको छ ।

प्रतिक्रिया