एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्दा राष्ट्रपतिलाई आधार लागेन : अधिवक्ता महतो

राष्ट्रिय समाचार समिति

काठमाडौं, १७ असार : वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले प्रधानमन्त्री नियुक्त गर्नका लागि एउटा दलको सांसद अर्कोमा गएर मिलेपछि राष्ट्रपतिलाई आधार उचित नलागेको तर्क गरेका छन् ।

file photo

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको बहस गर्ने क्रममा उनले पार्टीभित्रको सदस्य भएपछि आफ्नो पार्टीको निर्णय विपरीत गएर सांसद गणना गर्न नमिल्ने तर्क गरेका हुन् ।

‘दलको सदस्य भएपछि त्यो दलको निर्णय मान्नुपर्छ’, वरिष्ठ अधिवक्ता महतोले भन्नुभयो, ‘आधार पनि कानुनसम्मत चाहिन्छ, एउटा टिमको खेलाडी मेरो टिममा ल्याएको छु, मान्यता देऊ भन्दा राष्ट्रपतिलाई आधार लागेन ।’ वरिष्ठ अधिवक्ता महतोको त्यस तर्कमाथि प्रधानन्यायाधीश राणाले बहुमत सांसदले सही गरेर दिएपछि प्रधानमन्त्री बन्नका लागि अर्को आधार चाहिन्छ र ? भन्ने प्रश्नमा वरिष्ठ अधिवक्ता महतोले एउटा दलको सांसद अर्को दलमा गएर सांसदको संख्या बन्न नमिल्ने तर्क गरेका थिए ।

बहुदलीय शासन प्रणाली भनेको दलको शासन भएको तर्क गर्दै उनले दलभन्दा बाहिर गएर सरकार गठन गर्ने भनेर संविधानमा कतै पनि व्याख्या नगरिएको बताए । ‘दलमा बसेर दलको निर्णय मान्नु पर्दछ, संसदभित्र दलको भूमिका हुन्छ, संसदीय मामिलामा दलको मातहतमा नै सांसद हुन्, त्योभन्दा बाहिर जान सक्दैनन्’, वरिष्ठ अधिवक्ता महतोले भने, ‘एमालेका संसदीय दलका नेता ओलीले देश हाँकिरहेका छन्, उहाँलाई उहाँकै दलका सांसदले हटाएर संसदीय व्यवस्थामा अर्को दलको नेता देउवालाई समर्थन गर्न सक्दैनन् श्रीमान् ।’

प्रतिक्रिया