तपाईँहरु मिल्नुस्, मिल्नु भन्दा अर्को विकल्प छैन : ओली समूह

admin

काठमाडौं, २० असार : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहका नेताहरुले मिलेर अघि बढ्न वरिष्ठ नेता माधवकुमार नेपाललाई आग्रह गरेका छन् । बिहान नेपाल निवास कोटेश्वरमा पुगेर उनीहरुले मिल्नुको विकल्प नरहेकोले दुईजना भेटेर कुरा गर्न र मिलेर अघि बढ्न आग्रह गरेका हुन् । नेता नेपाललाई भेटेर फर्किएपछि नेता सुवासचन्द्र नेम्वाङले मिलेर जानु नै पार्टीको लागि राम्रो हुने बताएका छन् ।

उनले भने, ‘हामीले तपाईँहरु मिल्नुस्, योभन्दा अर्को विकल्प छैन भनेर भन्यौँ । दुवै जना भेटेर छलफल गरेर समस्याको समाधान गर्न आग्रह गर्यौँ ।’ वरिष्ठ नेता नेता नेपाललाई भेट्न एमालेका नेताहरु नेम्वाङसहित उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेल कोटेश्वर पुगेका थिए ।

जवाफमा वरिष्ठ नेता नेपालले आफ्नो समूहमा छलफल गरेर मात्रै निर्णय लिने बताए । ‘ठिकै छ । कार्यदल छ, त्यसैलाई व्युँत्याउँदा भइहाल्छ । तपाईहरुले नै प्रस्ताव तयार पारेर ल्याउनुस् ’, नेता नेपालको जवाफ थियो । 

त्यसबाहेक उनले अरु कुनै प्रतिक्रिया नजनाएको नेता नेम्वाङले बताए । ‘पार्टी एकताको सन्देश दिन संयुक्त वक्तव्य निकालौँ, त्यसका लागि अध्यक्षसँग एकपटक भेटवार्ता गरौं’, ओली पक्षका नेताहरुले नेता नेपालसँग प्रस्ताव गरेका थिए । उनीहरुको प्रस्तावलाई नेता नेपालले सकारात्मक लिँदै, कार्यदलबाट वक्तव्य ड्राफ्ट पारेर ल्याउन सुझाव दिएका थिए ।

उक्त भेटमा नेता नेपालले हस्ताक्षर फिर्ताको प्रस्तावबारे आफूले यसअघि नै जवाफ दिइसकेको भन्दै हस्ताक्षर फिर्ताको कुनै सम्भावना नरहेको बताएका थिए । माधव पक्षका २३ सांसदले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।

नेता नेपालले पार्टी एकताका लागि निःशर्त जेठ २ फर्कन आफुले राखेको प्रस्तावलाई अध्यक्ष ओलीले वेवास्ता गरेर पार्टी एकता नचाहेको समेत बताएका थिए । त्यस्तै नेता नेपालले ओली पक्षबाट एकताका लागि अर्मूत कुरामात्रै हुने गरेको र जेठ २ मा फर्कने चाहाना नै नराखेको जनाएका थिए ।

एमालेको केन्द्रीय कमिटी बैठकले सोमबार बेलुकासम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिने समय दिएको छ । तोकिएको समयसम्म पनि हस्ताक्षर फिर्ता नभए एकताको औचित्य सकिने प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले बताइसकेका छन् ।

प्रतिनिधि सभा विघटनको कदम गल्ती भएको भनेर स्वीकार नगरेसम्म आफूहरुले शेरबहादुर देउवालाई दिएको समर्थन फिर्ता नगर्ने खनाल-नेपाल समूहका नेताहरुले बताउँदै आएका छन् । (हिजो) शनिबार दुवै पक्षका ६ जना नेताहरुबीच ललितपुरको समिट होटलमा वार्ता भएको थियो । वार्ताका क्रममा सर्वोच्च अदालतमा बुझाइएको हस्ताक्षरलाई सहमतिको पूर्वशर्त बनाउने सहमति भएको थियो ।

प्रतिक्रिया