कोभिडले गरिबीको संख्या दोब्बर हुँदै

admin

काठमाडौं, २३ असार : कोरोना महामारीको प्रभावले अधिकांश रोजगारी गुम्दा गरिबीको रेखामुनि पर्नेको संख्या थपिने भएको छ । सरकारले गरिबीको रेखामुनि रहेको जनसंख्या एकल अंकमा झार्ने बताइरहँदा कोरोनाको कारण आधा गरिबीको रेखामुनि रहेने जनसंख्या दोब्बर हुने देखिएको हो । रोजगारीको ठूलो हिस्सा ओगटेका क्षेत्र कोरोना महामारीबाट अति प्रभावित भएकाले उक्त क्षेत्रका रोजगारी गुम्दा गरिबीको रेखामुनि रहेको जनसंख्या बढ्ने भएको हो । कोरोना नियन्त्रण तथा रोकथामका लागि गरिएको निषेधाज्ञाले अधिकांश क्षेत्रहरु ठप्प छन् ।

केन्द्रीय तथ्यांक विभागका अनुसार, नेपालमा सबैभन्दा बढी व्यत्ति होलसेल तथा रिटेल व्यवसायमा आवद्ध रहेका छन् । तर, सामान्य खुद्रा पसलबाहेक अन्य व्यवसायलाई निषेधाज्ञाले नराम्रोसँग प्रभावित बनाएका कारण यसले उनीहरुको आम्दनीमा प्रत्यक्ष असर गरेको छ । ठूला मलदेखि साना कपडा पसलसम्म बन्द रहँदा त्यसमा आवद्ध व्यक्तिहरुको आम्दानी गुमेको अर्थविद् केशव आचार्य बताउँछन् । कुल रोजगारीको ३०.६ प्रतिशत अर्थात् ९ लाख ८८ हजार व्यक्ति आवद्ध रहेको होलसेल तथा रिटेल व्यवसाय क्षेत्रमा कोरोनाको प्रभाव पर्दा अधिकांशको रोजगारी गुमेको उनको तर्क छ ।

साथै, दुई वर्षदेखि अति प्रभावित बनेको पर्यटन क्षेत्रमा कुल रोजगारीको ११.५ प्रतिशत अर्थात् झण्डै ३ लाख ७१ हजार मानिस आवद्ध रहेको प्रतिवेदनले देखाएको छ । तर, कोरोनाका कारण यो क्षेत्र पनि पूर्णरुपमा ठप्प रहँदा सतप्रतिशत नै आम्दानी गुमेको देखिन्छ । जसकारण यस क्षेत्रसँग आवद्ध २५ प्रतिशत मानिसबाहेक अन्य विस्थापित भइसकेको अर्थविद्् आचार्यको आंकलन छ ।

शिक्षा क्षेत्रमा कुल ५ लाख १३ हजार व्यक्ति आवद्ध रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस क्षेत्रमा पनि सरकारी क्षेत्रका शिक्षकबाहेक अन्यले तलब सुविधा नै नपाएको आचार्य बताउँछन् । “शिक्षामा सरकारी शिक्षकहरुले तलब पाइरहेका छन् तर निजी विद्यालयमा पढाउने थोरै शिक्षकले मात्र तलब भत्ता पाएका छन् । यहाँ कार्यरत कतिपय शिक्षक विस्थापित भइसकका छन्,” उनी भन्छन् ।

यस्तै अर्को प्रभावित क्षेत्र २ वर्षदेखि बन्द रहेको कला तथा मनोरञ्जन क्षेत्र हो । यस क्षेत्रमा पनि झण्डै १६ हजार मानिसहरु आवद्ध रहेकोमा सतप्रतिशको आम्दानी गुमेको छ भने अधिकांश विस्थापित भइसकेका छन् ।कोरोनाले आवास तथा खाद्य भण्डारणलाई समेत असर गरेको देखिन्छ । झण्डै ३ लाख ४६ हजार आवद्ध रहेकोे यो क्षेत्रमा पनि अधिकांशको रोजगारी गुमेको आंकलन गरिएको छ ।

त्यस्तै कोरोनाले अति प्रभावित भएको यातायात क्षेत्रमा पनि २० हजारको हाराहारीमा आवद्ध छन् । तर, यातायात क्षेत्र ठप्प हुँदा उनीहरुको आम्दानीको स्रोत गुमेको छ । यातायात क्षेत्रमा १ चौथाई बाहेक अरुको रोजगारी गुमेको आचार्यको ठहर छ ।त्यस्तै अन्य क्षेत्रहरु जस्तै निर्माण, सूचना तथा सञ्चार, कृषिहरुमा पनि कोरोना महामारीले ठूलै प्रभाव पारेको देखिन्छ ।

यी क्षेत्रहरुमा मानिसको रोजगारी गुम्दा र आम्दानीमा कमी आउँदा गरिबीको संख्या ह्वात्तै बढ्ने अर्थविद्हरु बताउँछन् । “स्वास्थ्य क्षेत्रमा अवकास पाएकादेखि इन्टर्न गरिरहेकालाई समेत बोलाएर एक वर्षे करारमा रोजगारी दिइएको छ,” उनी भन्छन्, “यसबाहेक अन्य सबै क्षेत्रको अवस्था चौपट भएको छ । जसले ठूलो संख्यामा गरिबी बढाएको छ ।”

करिब ५ महिना अघि राष्ट्रिय योजना आयोगले निकालेको प्रतिवेदनमा २०७७ असारसम्ममा १६ लाख मानिसले रोजगारी गुमाएकोे उल्लेख गरेको थियो । प्रतिवेदनका अनुसार १६ लाख मानिसले रोजगारी गुमाउँदा थप १२ लाख जनसंख्या गरिबीको रेखामुनि गएका छन् । गत चैत ११ गतेदेखिको पहिलो बन्दाबन्दीको असर न्युनिकरण नहुँदै पुन भएको निषेधाज्ञाले यो संख्या अझै बढ्ने देखिएकोे आचार्य बताउँछन् ।

करिब ५६ लाख बाट ६८ लाखमा पुगेको बेरोजगारी थप बढ्ने उनको आंकलन छ । त्यस्तै अहिले वैदेशिक रोजगारीमा जान पनि निकै कठिनाइ भएको छ । कतिपय देशले खोप नलगाई आउन नदिने निर्णय गर्दा वैदेशिक रोजगारीको अवसर गुमेर गरिबी बढेको छ ।सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा मुख्यमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी ढंगले लागु गर्दा केही रोजगारी बचाउन सकिने उनको तर्क छ । “तर, प्रधानमन्त्री रोजगार कार्यक्रम यति जटिल छ, समाजको पिधमा बसेको मानिसले त्यौ औपचारीकता पूरा नै गर्न सक्दैन ।” गरिबीको रेखामुनि परेकाका व्यक्तिहरुको पहिचान गरी तत्काल राहतका कार्यक्रमहरु ल्याउनुपर्ने उनी बताउँछन् ।

त्यस्तै एक जनाको आम्दानीमा पूरै परिवार धानिने देशमा रोजगारी गुम्दा गरिबीको संख्यामा ह्वात्तै वृद्धि हुने योजना आयोगका पूर्वउपाध्यक्ष शंकर शर्मा बताउँछन् । अघिल्लो वर्ष थप १६ लाख मानिसहरु गरिबीको रेखामुनि गएकोमा यस वर्ष त्यो संख्या बढ्न सक्ने उनको तर्क छ ।यसैबीच कोरोनाको तेस्रो लहर आउने आशंकामा फेरि रोजगारी गुमाउनेको संख्या बढ्न जाने पनि आंकलन छ ।

१५औं पञ्च वर्षिय योजनाले निरपेक्ष गरिबी घटाउने नारा ल्याएकै बेला आएको कोरोनाले गरिबीको संख्या झन् बढाउने देख्दा देख्दै पनि सरकारले केही गर्न भने सकेको छैन । करिब १८.७ प्रतिशत गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १५औं योजनाको अन्त्यसम्ममा ९ प्रतिशतमा झार्ने सरकारको योजनामा कोरोनाले ठूलो धक्का दिएको छ ।

“एक जनाको रोजगारी गुम्दा पुरै परिवारलाई नै असर गर्छ” शर्मा भन्छन्, “जसले गर्दा एकै परिवारका धेरै जना गरिबीको रेखामुनि जाने सम्भावना छ ।’ त्यसैले सरकारले गरिब तथा बेरोजगारका लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्ने उनको तर्क छ । अहिले कामबाट विस्थापित भएको जमातलाई जोगाउन सके अवस्था सामान्य भएपछि उनीहरु पुनः रोजगारीमा फर्किन सक्ने भएकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने शर्मा बताउँछन् ।

त्यसका लागि सरकारले सिपमुलक तालिमहरु सञ् चालन गर्नुपर्ने उनको तर्क छ । “यस्तो अवस्थामा धेरै देशले व्यावसायिक तालिम दिने गर्छन्” उनी भन्छन्, “नेपालमा पनि छिटो भन्दा छिटो नयाँ रोजगारीको अवसर सिर्जना हुन सक्ने ठाउँमा तालिम दिनुपर्छ । जसले उनीहरु भविष्यमा त्यही व्यवसायमा आवद्ध भएपनि मद्दत गर्छ, अवस्था सामान्य भएर पुरानै व्यवसायमा फर्किए भनेपनि उनीहरुको उत्पादकत्वमा वृद्धि हुन्छ ।” यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया