कोरोना संक्रमण पुष्टि हुनेको संख्या सात लाख नाघेसँगै ज्यान गुमाउनेको नौ हजार चार सय पुग्यो

admin

काठमाडौं, २८ असार : नेपालमा कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या सात लाख नाघेको छ । अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ५७ हजार एक सय ३९ जना र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४४ हजार तीन सय १९ जना गरी कुल सात लाख एक हजार चार सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा दुई हजार तीन सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सात हजार ६ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा एक हजार ६ सय ९० जना र तीन हजार आठ सय ९५ जनाको एन्टिजेन परीक्षण गर्दा ६ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा एक हजार एक सय ३३ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ जना पुगेको छ । यो अवधिमा थप १८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । योसहित कोरोनाका कारण कारण ज्यान गुमाउनेको संख्या नौ हजार चार सय पुगेको छ । अहिले नेपालमा २६ हजार सात सय १२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया