बच्चैदेखिको प्रेमी पाउन ४ चोटी भागिन् प्रेमिका, परिवारले नमानेपछि प्रहरी चौकीमै धुमधाम बिहे !

admin

एजेन्सी:  मान्छेले प्रेमका लागि कतिसम्म गर्छन् भन्ने उदाहरण भारतको बिहारस्थित रोहतास जिल्लाको डेहरी क्षेत्रमा देखिएको छ ।

विवाह गर्न प्रेमीप्रेमिकाहरू मन्दिरमा जाने गरेको सुनिन्थ्यो तर भारतमा प्रहरी चौकीमा विवाह भएको घटना बाहिरिएको छ । घरपरिवारले राजी नभएपछि प्रेमीप्रेमिका जोडीले स्थानीय प्रहरी चौकीमा धुमधामसँग बिहे गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार टंडवा गाउँका प्रेमी अभयकान्त र पडुहार गाउँकी प्रेमिका प्रियंकाबीच बच्चैदेखिको प्रेम सम्बन्ध प्रहरी चौकीमा विवाहमा परिणत भएको महिला थानाध्यक्ष माधुरी कुमारीले बताइन् ।

थानाध्यक्षकै संरक्षणमा दुवै प्रेमीप्रेमिकाको धुमधामसँग बिहे भएको जनाइएको छ । थानामै हिन्दू संस्कार अनुसार ब्राह्मणबाट मन्त्रोच्चारण र दुलहीको सिउँदोमा सिन्दुर भरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

घरपरिवारले प्रेम सम्बन्धमा अवरोध गरेको उजुरी प्रेमिकाले दिएपछि थानाध्यक्षले आफ्नै संरक्षणमा बिहे गराएकी हुन् । प्रेमिका प्रियंकाको निवेदनमाथि कारवाही गर्दा प्रेमी अभयकान्त विवाह गर्न राजी भएका थिए । विवाहमा प्रेमी र प्रेमिकाका भाइ भने सहभागी थिए ।

दुवै प्रेमीको विवाह गराउन परिवारजन सहमत थिएनन् । विवाहका लागि प्रेमिका आफ्नो घरबाट ४ चोटी भागिसकेकी थिइन् । भागेर गएपनि फेरि परिवारजनले खोजेर घरमै ल्याउने गरेका थिए । केही सीप नचलेपछि प्रियंकाले प्रहरी चौकीमै बिहे गरेकी हुन् ।

प्रहरी चौकीमै भएको विवाहको स्थानीय स्तरमा चर्चा भइरहेको छ । प्रहरी चौकीमा रहेका सबै प्रहरी कर्मचारीले विवाहित जोडीलाई बधाई तथा शुभकामना दिएका छन् ।

प्रतिक्रिया