लुम्बिनीका मुख्यमन्त्रीले मलाई बन्धक बनाए : सांसद वली

admin

काठमाडौं, साउन २२ : लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले आफूलाई एमाले प्रवेश गराउन मुख्यमन्त्री कार्यालयमा बन्धक बनाएको गम्भीर आरोप लगाएकी छिन् ।

लुम्बिनीमा सरकार परिवर्तनको रस्साकस्सी चलिरहँदा गत १५ साउनमा तुलसीपुरबाट सम्पर्कविहीन भएकी वलीले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो आरोप लगाएकी हुन् ।

वली सम्पर्कविहीन भएपछि उनको नामबाट सार्वजनिक भएको विज्ञप्तिमा उनले माओवादी छाडेर एमाले रोजेको उल्लेख थियो । मुख्यमन्त्री पोखरेलको निवासमा सुरुमा मन्त्री बनाउने प्रलोभन देखाइएको र त्यो सफल नभएपछि जबर्जस्ती हस्ताक्षर गर्न लगाई विज्ञप्ति जारी गरिएको दाबी वलीको छ ।

पत्रकार सम्मेलनमा वलीले जारी गरेको विज्ञप्तिमा छ, ‘मुख्यमन्त्रीसँग भेट भई छलफल सुरु भयो । उहाँले मलाई हाम्रो पार्टीमा आउनुस् अब यस्तो हुँदैन भन्नुभयो । साउन १६, १७ र १८ गते मुख्यमन्त्री निवासबाट निस्कनै नदिई निरन्तर दबाब दिइयो ।

मैले लगातार इन्कार गरेपछि १८ गते मलाई पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइयो ।’ १८ गते विज्ञप्ति जारी भइसकेपछि पनि आफूलाई निरन्तर बन्धक बनाएर राखेपछि ट्वाइलेटको चप्पल लगाएर बुधबार भाग्न सफल भएको वलीले बताएकी छिन् ।

उपचारका लागि नेपालगन्ज हिँड्नै लाग्दा एमाले प्रमुख सचेतक भूमिश्वर ढकालले आफ्नो गाडीमा पु¥याइदिने आश्वासन दिएर मुख्यमन्त्री कार्यालय पुर्‍याएको वलीले बताएकी छिन् । ‘गाडीमा बसियो, तर गाडी नेपालगन्ज जानुपर्नेमा एक्कासि बुटवलतिर मोडियो ।

तत्कालै प्रतिवाद गरेँ, तर गाडी बुटवलतिर हुइँकिइरह्यो । यसो किन गर्नुभयो भनेर लगातार प्रतिवाद गरिरहँदा उहाँहरूले एकपटक मुख्यमन्त्रीलाई भेट्नुपर्‍यो भनेर गाडी नरोकी एकैपटक निवासमा पुर्‍याउनुभयो,’ विज्ञप्तिमा उल्लेख छ।

एमाले र माओवादी केन्द्र मिलेर बनेको एकीकृत पार्टी नेकपाबाट उपनिर्वाचनबाट जितेर प्रदेश सभामा पुगेकी वलीले एकता भंग भएपछि गत १९ वैशाखमा माओवादी केन्द्र रोजेकी थिइन् । वली आफू माओवादी केन्द्रमा नै रहने भन्दै बुधबार माओवादी केन्द्रको प्रदेश सभाको संसदीय दलको सम्पर्कमा आएकी हुन् ।

वली दाङ क्षेत्र नं. ३ ‘ख’बाट ०७६ मंसिरमा सम्पन्न उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित भएकी थिइन् । प्रदेश सांसद रहेका उनका श्रीमान् उत्तरकुमार ओलीको सवारी दुर्घटनामा निधन भएपछि सोही स्थानमा विमलालाई एकीकृत पार्टी नेकपाले उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया