वर्तमान सरकारले वास्तविक गरिबलाई छिटै जग्गा वितरण गरोस्, देशमारा र गरिबमारा नहोस् : रामनारायण बिडारी

admin

काठमाडौं, २२ साउन : राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले वर्तमान सरकार देशमारा र गरिबमारा नहोस् भन्दै सुझाव दिएका छन् । शुक्रबारको राष्ट्रिय सभा बैठकमा बिडारीले भने, ‘सरकारले छिटो भन्दा छिटो वास्तविक गरिबहरूलाई जग्गा वितरण गरोस् । यो सरकार देशमारा र गरिबमारा नहोस् ।’

यस्तै उनले संवैधानिक आयोगमा अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताए । बिडारीले अघिल्लो सरकारले गैरसंवैधानिक रूपमा अध्यादेशमार्फत संवैधानिक निकायमा पदाधिकारी नियुक्त गरेर संवैधानिक निकायलाई कमजोर पारेको भन्दै ती नियुक्ति बदर गर्न राष्ट्रिय सभाले निर्देशन दिनुपर्ने बताएका हुन् ।

उनले भने, ‘राष्ट्रिय सभा जस्तो गरिमामय सभाले भनोस्, अध्यादेशद्वारा भएका सम्पूर्ण काम कारबाहीमा राजनीतिक सहमतिद्वारा ती नियुक्ति बदर गरेर ठिक बाटोमा, संविधानका बाटोमा फेरि कार्य गर्नू भनी निर्देशन पनि दिन सकौँ ।’ उनले संवैधानिक आयोग अपाङ्ग भएको, अदालतमाथि आलोचना भएको यो बेलामा संविधान विरोधीहरू खुसी भएको र धर्मको नाममा राजतन्त्रको कुरा माग्न थालेको टिप्पणी पनि गरे ।

राष्ट्रिय सभा सदस्य बिडारीले भने, ‘संवैधानिक आयोग अपाङ्ग भयो । अन्तर्राष्ट्रिय मान्यतामा प्रश्न उठ्यो । मानव अधिकार आयोग थरथर काम्नुपर्ने भयो । संसदको गरिमा पनि घट्यो । अदालतको आलोचना हुन थाल्यो । प्रधानन्यायाधीशमाथि प्रश्न उठ्न थाल्यो । संवैधानिक अङ्गहरू निष्प्रभावी भयो । संविधान विरोधीहरू खुसी भए । नेपाल विरोधीहरू नाच्न थाले । यही मौका छोपेर धर्मको नाममा मूर्ति चोरहरूले राजतन्त्रका कुरा माग्न थाले ।’

प्रतिक्रिया