आजदेखि मुस्ताङको मुक्तिनाथ मन्दिर खुल्यो

admin

म्याग्दी, १० असोज : मुस्ताङको मुक्तिनाथ मन्दिर आइतबारदेखि खुलेको छ । जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्र (डीसीएमसी) मुस्ताङको निर्णयअनुसार कोरोना भाइरस संक्रमणको कारण पाँच महिनादेखि बन्द रहेको मन्दिर खुला गरिएको हो । हिन्दु र बौद्ध धर्मावलम्बीहरुको साझा तीर्थस्थलका रुपमा रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारण तथा भक्तजनहरुका लागि खुला गरिएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

गएको बैशाख महिनादेखि बन्द मुक्तिनाथ मन्दिर डीसीएमसी र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयपछि खुलेको हो । मुक्तिनाथ मन्दिर विकास समितिका अध्यक्ष समेत रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले स्वास्थ्य सुरक्षाको मापदण्डहरुको पालना गर्ने गरी बाहिरी जिल्लाबाट आउने भक्तजन र तीर्थयात्रीलाई लक्षित गरेर मन्दिरमा दर्शन गर्न तथा पूजाआजाका लागि खुलाइएको बताए ।

उनले स्वदेशीका लागि पीसीआर वा एन्टिजेन परीक्षण गरेको नेगेटिभ रिपोर्ट तथा कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएको खोपकार्ड र विदेशीलाई पीसीआर परीक्षणको सात दिनभित्रको रिपोर्टका आधारमा मुक्तिनाथ प्रवेशको अनुमति दिइएको जानकारी दिए ।

सोह्रश्राद्धको अवसरमा नेपालीहरु कागबेनीमा पुगेर श्राद्ध र पिण्डदान गरी मुक्तिनाथ मन्दिरको दर्शन गर्न पुग्ने गर्दछन् । कोरोना संक्रमण फैलिएपछि मुस्ताङमा गएको बैशाख तेस्रो हप्तादेखि जारी गरिएको निषेधाज्ञा गएको भदौको २३ गतेबाट हटाइएको थियो ।

मुस्ताङमा १८ वर्षभन्दा माथिका सबै नागरिकहरुले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको अवस्थामा संक्रमणदर समेत न्यून रहेकाले जनजीवनलाई सामान्य बनाउन निषेधाज्ञा हटाइएको थियो । मुस्ताङमा जारी निषेधाज्ञा हटाएसँगै प्रसिद्ध मुक्तिनाथ मन्दिर खुलाउनका लागि प्रशासनलाई दबाब परेको थियो ।

निषेधाज्ञा हटाएर मुक्तिनाथ मन्दिर खुलेसँगै कोरोनाका कारण थला परेको मुस्ताङको पर्यटन व्यवसायले अब गति लिने अपेक्षा गरिएको पर्यटन व्यवसायीहरु बताउँछन् । मुस्ताङका धार्मिक तथा पर्यटकीय स्थलहरु खुलेसँगै म्याग्दीको बेनी भएर मुस्ताङ जाने स्वदेशी पर्यटकहरुको चहलपहल समेत बढेको छ ।

मुस्ताङ होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घका अध्यक्ष खगेन्द्र तुलाचनले पछिल्लो पटक कागबेनी र मुक्तिनाथ क्षेत्रमा स्वदेशी पर्यटकहरु आउने थालेको बताउँदै उपल्लो मुस्ताङको भ्रमणमा भने विदेशी पर्यटकहरु पुगेको जानकारी दिए ।

कोरोना परीक्षणको नेगेटिभ रिपोर्टसहित पूर्ण खोप लगाएको आधारमा मुस्ताङ प्रवेशका लागि खुला गरिएपछि मुस्ताङमा स्वदेशी पर्यटकहरुको चहलपहल बढेको अध्यक्ष तुलाचनले बताए । समुद्री सतहदेखि ३ हजार ७ सय मिटरको उचाइमा रहेको मुक्तिनाथ मन्दिरमा १०८ धारा नुहाइ मन्दिरको दर्शन तथा पूजाआजा गर्न बर्सेनि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया