निजी क्षेत्रले सञ्चारलाई गाउँ-गाउँ पुर्‍याउने काम गरिरहेका छन्, मैले पनि सकारात्मक रूपले ग्रहण गर्नेछु : मन्त्री भुसाल

admin

काठमाडौं, १३ असोज : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छिन् । बुधबार केबल टेलिभिजन व्यवसायी महासङ्घको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै मन्त्री भुसालले केबल टेलिभिजन व्यवसायीहरूको मागलाई सम्बोधन गर्ने बताएकी हुन् ।

उनले सञ्चारलाई गाउँ-गाउँमा पुर्‍याउनुपर्ने सरकारको काम निजी क्षेत्रले गरिरहेको बताइन् । मन्त्री भुसालले विज्ञान र प्रविधिको विकासले अहिले सबैसँग हातको मोबाइलको चिप्समा संसार भएको भन्दै ती सबैलाई नियमन, अनुगमन र नियन्त्रण कसरी गर्ने भन्ने कुरा सरकारले हेर्नुपर्ने बताइन् ।

उनले निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पारेको भन्दै पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई सरकारले सकारात्मक ढङ्गले ग्रहण गर्ने र संवादद्वारा केबल टेलिभिजन व्यवसायीहरूको मागको हल निकाल्ने बताइन् ।

मन्त्री भुसालले सबैको अभिभावक भएकोले सरकारले निजी र सामुदायिक क्षेत्रका र जनताका समस्याको समाधान गर्ने बताइन् । उनले आजको विद्युत प्राधिकरणको बैठकमा पोल भाडा वृद्धिको विषयमा छलफल गर्ने बताइन् ।

मन्त्री भुसालले भनिन्, ‘हामीले प्राप्त गरेको राजनीतिक अधिकारमा पाएको महत्त्वपूर्ण अधिकार सूचनाको हक हो, यो अधिकार ल्याउन सञ्चारमाध्यम र सञ्चारकर्मीहरूको ठूलो हात छ । हाम्रो देशमा साढे सात सयभन्दा बढी त एफएमहरू छन्, समाचार नै आफूले मात्रै बनाएर प्रसारण गर्न पाउने अधिकार नेपालमा मात्रै हो, अरू देशमा सरकारले बनाएका समाचार छाप्ने हो । हामीले मोबाइल, चिप्स जस्ता सामग्रीबाट हातहातमा पाएको समाचारको र सूचनाको हकलाई न्यूनीकरण गर्नुहुँदैन, केबल टेलिभिजन व्यवसायी साथीहरूले गाउँ-गाउँ, ठाउँ-ठाउँमा पुगेर राज्यले दिनुपर्ने सेवालाई दिनुभएको छ, म त्यसलाई सम्मान गर्दछु ।’

‘राज्यका आज आफ्नो टेलिफोन, टेलिभिजन हुँदाहुँदै निजी प्रदायकहरू पनि हुनुहुन्छ, सँगै विज्ञानको प्रविधिले सबैका हातमा मोबाइल, चिप्सहरूमा संसार छ, त्यसको नियमन, अनुगमन, नियन्त्रण कसरी गर्ने ? आदिबारे चुनौतीहरू पनि छन् । यसलाई नियमन र नियन्त्रण गर्ने कुरासँगै निजी क्षेत्रले व्यवसाय र पेसामै प्रभाव पार्ने भएकाले म यहाँहरूलाई के प्रतिबद्धता जनाउन चाहन्छु भने– यहाँहरूका पेसागत जीवनमा परेका समस्या र चुनौतीहरूलाई राज्यले सकारात्मक ढङ्गले ग्रहण गर्नेछ । मैले पनि नेपाल सरकारको मन्त्रीको हैसियतले सकारात्मक रूपले ग्रहण गर्नेछु र संवादद्वारा समाधान गर्ने कुराको पनि विश्वास दिलाउँछु ।’

 

प्रतिक्रिया