विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद

admin

काठमाडौँ, मङ्सिर २६ : महासभा बैठकलाई लिएर विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद देखिएको छ ।

विश्व हिन्दू महासङ्घ अन्तर्राष्ट्रिय समितिमा विवाद

महासङ्घले शनिबार गुपचुप रूपमा महासभा बैठक गरेर दुई पक्षले नेतृत्व हत्याउन खोजेकामा सफल नभएपछि कार्यक्रम नै बिथोलिएको हो ।

महासभा बैठक बिथोलिएको भन्दै निमित्त अध्यक्ष चक्रबन्धु अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौँमा आज महासभा बैठक स्थगित गरिएको जानकारी गराउनुभयो ।

शनिबारको महासभा बैठकमा अध्यक्षका उम्मेद्वारद्वय महासचिव अस्मिता भण्डारी र कार्यसमिति सदस्य किशोरकुमार गौतम पक्षबीच विवाद भएको सचिव केशव सापकोटाले राससलाई जानकारी दिनुभयो । महासचिव पक्षका मानिस बढी अभद्र गतिविधिमा उत्रिएपछि महासभा बैठक स्थगन गर्नुपरेको उहाँले सुनाउनुभयो ।

निमित्त अध्यक्ष अर्यालले आज प्रशासनमा बुझाउनुभएको निवेदनमा कार्यकारी समितिले उपयुक्त समयमा महासभा बैठक राखेर नयाँ नेतृत्व चयन गर्ने भन्दै स्थगन गरेको जानकारी गराउनुभएको छ ।

यता महासचिव भण्डारी पक्षले भने महासभाबाट आज कार्यवाहक अध्यक्ष घोषणा गरेको जनाएको छ । महासचिव भण्डारीले आफूलाई आज महासभाले कार्यवाहक अध्यक्ष घोषणा गरेको राससलाई जानकारी दिनुभयो । महासभालाई यो घोषणा गर्ने अधिकार रहेको उहाँको दाबी छ ।

प्रतिक्रिया