हिमालयन शेर्पाको पहिलो जित

admin

काठमाडौं, ४ पुस : हिमालयन शेर्पा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई ३–१ ले पराजित गर्दै शेर्पाले लिगमा पहिलो जित निकालेको हो।

शेर्पाको जितमा मुताम्वा पिस्टोन भुनयोली, सुरेश कुमाल र मनिष थापाले गोल गरे। बिबिसीका भुवन बस्नेतले एक गोल गरे।

खेलको चौथो मिनेटमा मुताम्वा पिस्टोन भुनयोलीको गोलबाट शेर्पाले १–० को अग्रता लिएको थियो। शिशिर लेखीले विसन गुरुङलाई फउल गरेपछि प्राप्त शेर्पाले फ्रिकिकको मौका पाएको थियो। उक्त फ्रिकिकमा कप्तान विश्वास श्रेष्ठको प्रहारलाई मुताम्वाले हेडरमार्फत जाली चुमाउँदा गोलरक्षक एन्जल श्रेष्ठले कुनै मौका पाएनन्।

१२औं मिनेटमा सुरेश कुमालको क्रसमा मुताम्वाको हेडरलाई गोलरक्षक एन्जल श्रेष्ठले टप कर्नरबाट पञ्च गर्दै बचाए। ५३औं मिनेटमा सब्सिच्युट फरवार्ड भुवन बस्नेतले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

दोस्रो हाफमा दिनेश राईको स्थानमा मैदान छिरेका भुवनले शिशिर लेखीको पासमा पहिलो बारतर्फ गरेको प्रहारले जाली चुम्यो। ७४औं मिनेटमा सुरेश कुमालले गोल गर्दै शेर्पालाई २–१ को अग्रता दिलाए।

जीवन गुरुङको लामो पासमा गोलरक्षक एन्जल श्रेष्ठ अघि बढेको अवस्थामा वान टचमा चिपमा गोल गरे। इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मनिष थापाले गोल गर्दै शेर्पाको जित पक्का गरे।

जितपछि शेर्पा ५ खेलबाट ५ अंक जोडेर १०औं स्थानमा उक्लिएको छ। पराजित बिबिसीको पनि ५ खेलबाट ५ अंक छ। गोल अन्तरमा बिबिसी आठौं र पुलिस नवौं स्थानमा रहेको छ।

प्रतिक्रिया