शेरबहादुर देउवालाई विगत सच्याउने एउटा अवसर, भारतको पहिलो तीनदिने भ्रमण तयारी सुरु

admin

काठमाडौं, ११ पुस : नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन् ।

कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन् । गएको मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो ।

पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन् । पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ ।

विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल देखिएका देउवाका लागि आगामी दिनमा पनि सोही चुनौती छ । आफू कांग्रेस राजनीतिमा सक्रिय हुँदाका बेला जन्मिएका नेता–कार्यकर्तालाई १४औं महाधिवेशनबाट सहकर्मीका रूपमा देउवाले पाएका छन् ।

टेबुल ठोकेर पार्टीका विषयमा मात्र होइन, राष्ट्रिय मुद्दामा बहस गर्ने नेताबिनै सुरु भएको दोस्रो कार्यकालमा पदाधिकारीसहित केन्द्रीय समितिमा आएका युवा पुस्तालाई विश्वासमा लिने र अघिल्लो पुस्तालाई समेटेर अघि बढ्ने चुनौती देउवासामु छन् ।

रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङसहितका नेता कांग्रेसको केन्द्रीय समितिमा छैनन् । उनीहरूलाई समेट्नुपर्ने चुनौती देउवालाई छ भने पदाधिकारीमा पराजित केही नेतालाई पनि अटाउनुपर्ने बाध्यता पनि उनीसँग छ ।

यस्तै प्रधानमन्त्री देउवा पाँचौँ पटक प्रधानमन्त्री भएपछि छिमेकी मुलुक भारतको पहिलो तीनदिने भ्रमण गर्न लागेका छन् । प्रधानमन्त्री देउवाको भ्रमणका लागि सरकारले गृहकार्य सुरु गरेको छ । देउवा प्रधानमन्त्री भएपछिको यो दोस्रो विदेश भ्रमण हुनेछ ।

पहिलो भ्रमण जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा भाग लिन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत कात्तिकमा बेलायत पुगेका थिए । प्रधानमन्त्री देउवालाई भारत सरकारले गुजरातको गान्धी नगरमा यही पुस २६ गतेदेखि २८ मा हुने भाइब्रेन्ट गुजरात ग्लोबल समिट’ मा भाग लिन निम्तो पठाएपछि सरकारले देउवाको भ्रमण तयारी गर्न थालेको हो ।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, “भारतीय प्रधानमन्त्रीको निम्तो प्राप्त भएको छ । त्यसअनुसार भ्रमणको आवश्यक गृहकार्य भइरहेको छ ।” कोभिडको पछिल्लो भेरियन्टको भारतमा प्रभाव बढ्दै गइरहेको बेला भ्रमण के हुने भन्ने अन्तिम टुङ्गो भने लागिनसकेको बताइएको छ । भ्रमण हुने निश्चित भएमा यही पुस २५ गते प्रधानमन्त्री देउवा भारत जानेछन् । – पत्रपत्रिकाबाट

प्रतिक्रिया