पुसभित्र दुईतिहाइलाई कोरोनाविरुद्धको खोप, ‘ओमिक्रोन’को त्रास, सिमानामा छैन छेकबार

admin

काठमाडौं, ११ पुस : कोरोना भाइरसविरुद्ध लड्न खोपलाई प्राथमिकता दिँदै आएको नेपालले हालसम्म दुई करोड १२ लाख मात्रा खोप लगाइसकेको छ ।

तीमध्ये पहिलो मात्राको खोप लगाउनेको संख्या एक करोड ३३ लाख ९९ हजार ६०७ छ भने पूर्ण खोप प्राप्त गर्नेको संख्या ९४ लाख ५० हजार रहेको छ । नेपालले गत माघदेखि खोप लगाउन थालेको हो । एक वर्षमा नेपालले विश्व बजारमा आएका छवटा खोप प्रयोग गरिसकेको छ ।

कोभिसिल्ड, एस्ट्राजेनिका, भेरोसेल साइनोफार्म, जोन्सन एन्ड जोन्सन, फाइजर बायोन्टेक र मोडर्ना प्रयोग गरिएको छ । १८ वर्षभन्दा माथिको उमेर समूहलाई यसअघि लगाइसकिएको छ भने १२ देखि १८ वर्ष उमेर समूहलाई यही पुस ४ गतेबाट खोप अभियान सुरु गरिएको छ ।

सो समूहकालाई फाइजर बायोन्टेक र मोडर्ना खोप लगाउन थालिएको छ । यी खोप हालसम्म तीन करोड ३२ लाख ९० हजार ३३० मात्रा आइसकेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले एक करोड २० लाख खोप खरिद गरेको र बाँकी खोप कोभ्याक्स सुविधा, विभिन्न मुलुकबाट सहयोगका रूपमा प्राप्त भएको बताए ।

उनले सबै नेपालीलाई आगामी चैत मसान्तसम्ममा खोप लगाउने काम सम्पन्न गर्न सरकारले थप खोप खरिद प्रक्रिया अघि बढाइरहेको छ भने विभिन्न मुलुकसँग खोप सहयोगका लागि पहल गरिएको बताए । सरकारले विभिन्न स्थानमा रहेको खोप भण्डारमा करिब ६८ लाख खोप सुरक्षित रहेको बताएको छ ।

यही पुस महिनासम्म १८ वर्षभन्दा माथिको ६६ प्रतिशत जनसङ्ख्या र चैत महिनासम्म सबैलाई खोप लगाइसक्ने लक्ष्यसाथ सरकारले काम गरिरहेको छ । यस्तै भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘अ‍ेमिक्रोन’ संक्रमितको संख्या तीन सय नजिक पुगेको छ । दैनिक संक्रमित बढिरहेका छन् । दिल्ली र महाराष्ट्रमा संक्रमित बढी छन् ।

भारत नेपालसँग सिमाना जोडिएको मुलुक भएकाले नेपालमा सहजै संक्रमण फैलन सक्छ । तर, रोक्न तयारी चुस्त बनाइएको छैन । सीमा नाका खुला छन् । स्वास्थ्य मापदण्ड पालना छैन । कोरोनाको दोस्रो भेरियन्टमा पनि यस्तै लापरवाही गरिएकाले सुदूरपश्चिममा मात्रै पाँच सयभन्दा बढीले ज्यान गुमाएका थिए ।

सिमानामा समयमा कडाइ नगर्दा अन्य प्रदेशमा पनि संक्रमण तीव्र गतिमा फैलिएको थियो । अहिले नेपालमा पनि ओमिक्रोनका संक्रमित भेटिएका छन् । सिमाना र विमानस्थलबाट ओमिक्रोन संक्रमित सहजै भित्रने भएकाले संक्रमण रोक्न चुनौती छ ।

कैलालीको गौरीफन्टा नाका हुँदै सहजै आवतजावत भइरहेको छ । बैतडी पुरचौंडीका नरेन्द्र साउद बिहीबार भारतको बेंगलोरबाट यो नाका हुँदै भित्रिए । नाकामा उनको स्वास्थ्य परीक्षण भएन । सिधै अटो रिक्सा चढेर धनगढी बसपार्क पुगे । ‘सामान पनि थियो, भारतमा कोरोना जाँच गरेकै हो, खासै डर छैन । स्वास्थ्य परीक्षण गर्ने झन्झटभन्दा त सिधै अटो चढेर आइयो’, उनले भने ।

उनी जस्तै यो नाका हुँदै दैनिक सयौं नागरिक नेपाल आउँछन् । सिमानामा स्वास्थ्य परीक्षणको व्यवस्था भए पनि यहाँ परीक्षण गराउने कम छन् । परीक्षण गरिएका र पोजेटिभ देखिएका बाहेक कसैलाई पनि क्वारेन्टाइनको व्यवस्था छैन । उनीहरू सोझै सार्वजनिक यातायात चढेर घर पुग्छन् ।

प्रतिक्रिया