विरोध जनाउँदै आएकी रामकुमारी झाँक्रीले पनि खाइन् ‘पिर्के सलामी’

admin

काठमाडौं, १९ पुस : नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यतिबेला यसको व्यापक आलोचना भएको छ ।

मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् । जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले झाँक्रीले लिएको सलामीको तस्बिर राख्दै ‘पिर्के सलामी’को विरोध गर्दागर्दै गुल्मीको पुर्कोट दहमा रहेको एक प्रहरी कार्यालय पुगेर ‘पिर्के सलामी’ खान पुगेकोमा बधाई दिँदै व्यङ्ग्य गरेका छन् । झाँक्रीले विगतमा त्यस्तो सलामीको बिरोध गर्ने गरेकी थिइन् । उनले सामाजिक सञ्जालमा आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रममा सहभागी भएको जनाइन् ।

‘कि मैले त्यो कार्यक्रम रद्द गर्नुपर्ने कि, लिनुपर्ने अवस्था थियो । भावनात्मक हिसाबले मैले मेरै गाउँको कार्यक्रम भएकाले र मेरै पहलमा चौकी स्थापना समेत भएकाले कार्यक्रम रद्द गर्न र कसैलाई नमिठो बनाउन चाहिन । आलोचना हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मैले त्यो बाटो रोजे’, मन्त्री झाँक्रीले बताएकी छिन् ।

पिर्के सलामी लिने मन्त्री झाँक्री पहिलो भने होइनन् । यसअघि प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीहरूले पनि पिर्के सलामी लिएका तस्वीरहरू सार्वजनिक हुँदै आएका छन् ।

प्रतिक्रिया