७५ जिल्लामा कोरोना, नौ जिल्ला उच्च जोखिममा

admin

काठमाडौं, २९ पुस : पछिल्लो दुई दिनमा व्यापक विस्तारसँगै देशका ७५ जिल्लामा कोरोनाका संक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मुगु र मुस्ताङबाहेक अन्य जिल्लामा कोरोना संक्रमति भेटिएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६ सय ९० छ । गत १६ पुसदेखि क्रमशः कोरोना संक्रमण बढ्न थालेको हो । तथ्यांकअनुसार १६ पुसमा ७० जिल्लामा ‘एक्टिभ’ कोरोना संक्रमित थिए, जब कि २८ पुसमा पुग्दा एक्टिभ संक्रमित भएका जिल्ला ७५ पुगेको छ । ओमिक्रोन जोखिम कम गर्न सरकारले खोप लगाउन र स्वास्थ्य मापदण्ड पालन गर्न आग्रह गरेको छ ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार १६ पुसमा हिमाली क्षेत्रमा पर्ने सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, हुम्ला र बाजुरा जिल्ला कोरोनामुक्त थिए । तर, २८ पुसमा पुग्दा मुगु र मुस्ताङबाहेक अन्य जिल्लामा संक्रमण पुगेको छ ।

संक्रमण पुगेको ७५ मध्ये नौ जिल्ला उच्च जोखिममा छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौं, चितवन, भक्तपुर, ललितपुर, कास्की, बाँके र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढी छन् ।

यी जिल्लामा संक्रमण फैलिने दर पनि बढी छ । त्यसैबीच देशभर पछिल्लो २४ घन्टामा थप तीन हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार देखिएको नयाँ संक्रमितभन्दा यो ६ सय ३१ ले बढी हो । उपत्यकाका तीन जिल्लामा बुधबार र एक हजार पाँच सय ३८ नयाँ संक्रमित थपिएका छन् ।

काठमाडौंमा एक हजार एक सय २८, ललितपुर दुई सय ३६ र भक्तपुरमा एक सय ३४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

नयाँ संक्रमितमध्ये नौ हजार ५१ को पिसिआर र तीन हजार नौ सय ८५ को एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ  ।

 

प्रतिक्रिया