अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिन्छ : स्वास्थ्यमन्त्री

admin

काठमाडौं, २९ पुस : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन् ।

(आज) बिहीबार कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरूको कुरा सुनेर लकडाउन गरे पनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन् ।

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्ने किसिमबाट सरकार नजाने बताए । मन्त्री खतिवडाले सरकारले स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकाले लकडाउन हुन्छ भनेर आत्तिनुनपर्ने बताए ।

यस्तै मन्त्री खतिवडाले कोरोनाको नयाँ भेरियन्टबाट बच्न होसियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरे । उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्न पनि आग्रह गरे ।

मन्त्री खतिवडाले विज्ञहरूले बुस्टर डोज लगाएपछि नयाँ भेरियन्टबाट बच्न सहज हुने बताएकाले आउँदो माघ पहिलो हप्तादेखि अग्रपङ्क्तिमा रहेर काम गर्नेहरूलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए ।

उनले माघको दोस्रो हप्तामा ६० वर्षमाथिको उमेर समूहका नागरिक र तेस्रो वा चौथो हप्तादेखि आम नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए । मन्त्री खतिवडाले स्वास्थ्य केन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे ।

साथै कोरोना खोप लगाउन अस्पतालमा भिड भइरहेको प्रसङ्गमा उनले विभिन्न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भिड हुन नदिने बताए ।

प्रतिक्रिया