यी पाँच जिल्लामा सक्रिय संक्रमितको संख्या बढि, खोप नलगाएकालाई ओमिक्रोन भेरियन्ट खतरनाक

admin

काठमाडौं, ३० पुस : नेपालमा कोरोना भाइरस (कोभिड-१९) का सक्रिय संक्रमितको संख्या फेरि बढ्दै गएको छ ।

नेपालका पाँच जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढि छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विवरणअनुसार काठमाडौं, ललितपुर, भक्तपुर, मोरङ र कास्कीमा सक्रिय संक्रमितको संख्या पाँच सयभन्दा बढि छ ।

यस्तै दुई सयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्ला ६ वटा छ । मन्त्रालयका अनुसार सुनसरी, चितवन, मकवानपुर, बाँके, रुपन्देही र कैलालीमा सक्रिय संक्रमितको संख्या दुई सयभन्दा बढि छ ।

यस्तै सक्रिय संक्रमितको संख्या शून्य रहेको जिल्ला मुगु मात्रै छ । केही दिनयता नेपालमा कोरोना भाइरसको संक्रमण दर बढेको छ । कोरोना संक्रमण बढेसँगै अस्पतालमा कोरोनाका बिरामीको संख्या थपिँदै गएको छ ।

पछिल्लो समय अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिहरू जाने क्रम बढेको छ । त्यस्तै घाँटी र जिउ दुख्ने, थकान महसुस हुने, रुघाखोकी र ज्वरो सहितका लक्षण लिएर मानिसहरू अस्पताल आइरहेका स्वास्थ्यकर्मीले बताएका छन् ।

सरकारले कोरोना संक्रमणबाट बच्न कोरोना खोप लगाउन र स्वास्थ्य मापदण्ड पालना गर्न नागरिकलाई आग्रह गर्दै आइरहेको छ । योसँगै सरकारले कोरोनासम्बन्धी विभिन्न निर्देशन दिएर पालना गराउन विभिन्न निकायलाई आग्रह गरेको छ ।

यसैबीच कोरोनाको ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि खतरनाक भाइरस भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक टेड्रोस एड्नोहम गेब्रेयससले बताएका छन् ।

उनले ओमिक्रोनको संक्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन् भने ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस भए पनि यो भाइरस विशेषगरी खोप नलगाएकाहरूका लागि भने खतरनाक नै हुने बताए ।

प्रतिक्रिया