खोपको कुनै अभाव छैन : स्वास्थ्यमन्त्री

admin

काठमाडौं, ३ माघ : स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले नेपाल सरकारसँग चार करोड डोज कोरोनाको खोप मौज्दात रहेको जानकारी दिएका छन् ।

मोरङमा (आज) सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले कोभिड-१९ विरुद्ध खोप अभियान उच्च प्राथमिकताका साथ सञ्चालन भइरहेको पनि जानकारी दिए ।

उनले खोप अभियान सात वटै प्रदेशमा तालिका बनाएर अझ प्रभावकारी रुपमा सञ्चालन गर्ने सरकारको नीति रहेको बताए । स्वास्थ्य मन्त्री खतिवडाले खोप पर्याप्त मौज्दात रहेकाले कुनै पनि समस्या नरहेको र छुटेकाहरुलाई लगाउन आग्रह गरे ।

पछिल्लो तथ्याङ्क अनुसार समग्र जनसङ्ख्याका आधारमा ४० प्रतिशतले खोप लगाएका छन् । खोपको दुई डोज लगाउने नागरिक ६० प्रतिशत छन् । सरकारले खोप अभाव नरहेको बताए पनि नागरिक भने खोपको पहुँचभन्दा बाहिर छन् ।

अझै पनि ४० प्रतिशत नागरिक खोपबाट बञ्चित छन् । छुटेकालाई खोप दिने तथा बढी भिडभाड हुने क्षेत्रमा नियमित खोप सञ्चालन गर्ने तयारी रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । छुटेकाहरुका लागि नियमित खोप कार्यक्रमसँगै बुस्टर डोज खोपको अभियान यसैहप्तादेखि सुरु भएको छ ।

काठमाडौंका १७ ठाउँबाट सोमबारदेखि अग्रपंक्तिमा खटिनेलाई खोपको बुस्टर मात्रा दिन थालिएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेका अनुसार आठवटा सरकारी र नौ वटा निजी गरी १७ अस्पतालबाट बुस्टर डोज खोप दिन थालिएको हो ।

बुस्टर मात्रा लगाउन यसअघि खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ । यस्तै, यसअघिको खोप कार्ड पनि अनिवार्य लैजानुपर्नेछ । आउँदो १४ गतेदेखि ६० वर्षभन्दा माथिकालाई बुस्टर मात्रा दिने सरकारको तयारी छ । पहिला जुन खोप लगाइएको थियो बुस्टर पनि त्यहि खोप लगाउनुपर्छ ।

सरकारले ओमिक्रोन भाइरसको रोकथाम, उपचार एवं नियन्त्रण गर्न आवश्यक तयारी गरिसकेको भन्दै मन्त्री खतिवडाले होल्डिङ सेन्टर निर्माण गर्ने र अस्पतालमा आईसीयू, भेन्टिलेटरको व्यवस्थासँगै धेरै अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भइसकेको बताए ।

प्रतिक्रिया