दोस्रो पटकको प्रयासमा प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित

admin

काठमाडौं, ३ माघ : प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्ताव पारित भएको छ ।

प्रदेशसभामा सोमबार भएको मतदानमा सभामुख सरोजकुमार यादवले प्रदेशको स्थायी राजधानी जनकपुरधाम दुई तिहाइबाट पारित गरिएको भन्दै अन्य प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।

कुल एक सय ४ सदस्य रहेको प्रदेश २ सभाको (आज) सोमबारको बैठकमा ९९ जना सहभागी थिए । जसमध्ये मतदानमा स्थायी राजधानी जनकपुरधामको पक्षमा ७८ मत परेको छ ।

प्रदेशसभामा रहेका सबै दल जनकपुरधामलाई राजधानी बनाउन सहमत थिए । तर, पर्सा र आसपासका सांसदहरू भने वीरगञ्जको अडानमा थिए । दोस्रो पटकको प्रयासमा प्रदेश २ को स्थायी राजधानी कायम भएको हो ।

प्रदेश सभा सचिवालयका अनुसार सोमबार नै प्रदेशको नाम सम्बन्धी प्रस्ताव पनि अगाडि बढाउने तयारी छ । यसअघि २०७६ चैत ३ मा मतदान हुँदा राजधानीको टुङगो लाग्न सकेको थिएन ।

अब प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुरको केन्द्र भई उत्तरमा ढल्केवर पूर्व पश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, पश्चिममा मिथिला माध्यमिक परिक्रमा सडक र दक्षिण नेपालको सीमाना कायम हुनेछ ।

प्रतिक्रिया