आज छैटौँ निर्वाचन दिवस मनाइँदै

admin

काठमाडौं, ७ फागुन: आज छैटौँ निर्वाचन दिवस मनाइँदैछ । ‘निर्वाचनमा सबै सधैँ सँगै’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।

२०१५ साल फागुन ७ गते नेपाली नागरिकले आफ्नो मताधिकार उपयोग गर्न पाएको दिनको सम्झना दिवस मनाउन लागिएको हो ।

निर्वाचन आयोगले २०७३ सालदेखि फागुन ७ गते निर्वाचन दिवस मनाउन थालेको हो । दिवसका अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आउँदाे स्थानीय तह चुनावमा स्वतः स्फूर्त सक्रिय एवम् उत्साहजनक रूपमा सहभागी हुन आह्वान गर्नुभएको छ ।

सरकारले स्थानीय तहको चुनाव आउँदो वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरिसकेको छ । नेपालमा संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रपति, उपराष्ट्रपति, राष्ट्रिय सभा सदस्य, प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, स्थानीय तहका सदस्यको चुनाव तथा यसपछि सम्पन्न भएका उपचुनाव र राष्ट्रिय सदस्य चुनावबाट देशभर झण्डै ४१ हजार सत सय जनप्रतिनिधि शासकीय प्रणालीमा सहभागी हुन सफल भएका छन् ।

अघिल्लो तीन चरणमा सम्पन्न स्थानीय तहको चुनावबाट निर्वाचित पदाधिकारीको पदावधि संविधान र ऐनअनुसार आउँदो जेठ ५ गते समाप्त हुने भएकाले त्यसअघि नै स्थानीय तहमा जनप्रतिनिधिको चयन गर्न चुनाव हुन लागेको हो । पछिल्लो समय चुनाव खर्चिलो र भड्किलो बन्दै गएको भन्दै टिकाटिप्पणी हुँदै आएको छ ।

प्रतिक्रिया