आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने माधव नेपालको दाबी

admin

काठमाडौं,२५ फागुन : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनबीच सहकार्य हुने दावी गर्नुभएको छ ।

बुधबारबाट काठमाडौंमा सुरु समाजवादीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले चुनावको तयारीको सन्दर्भमा गठबन्धन दलहरूसँग पनि कुराकानी भइरहेको र मिलेर जाने सहमति भएको बताउनुभएको हो । उहाले अव सिंगो पार्टीको ध्यान स्थानीय तह निर्वाचनमा केन्द्रित हुने बताउनुभयो ।

गठबन्धन दलहरुबीचको गठबन्धन तोड्नका लागि भयकंर षडयन्त्र भएको र उक्त षडयन्त्रहरुलाई बिफल पारिएको उहाको भनाई छ । अध्यक्ष नेपालले पार्टीको अनुशासन र विधिहरु पालना गर्नुपर्ने भन्दै अराजकतालाई पार्टीभित्र स्वीकार गर्न नसकिने उल्लेख गर्नुभयो ।

त्यस्तै उहाले आफुहरुले निर्माण गरेको एमालेलाई केपी ओलीले कव्जा गरेका कारण बिद्रोह गर्नुपरेको धारणा राख्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीलाई जनताको आकांक्षा अनुरुप नै अघि बढाउनुपर्ने बताउनुभयो ।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदनमाथि उठेका प्रश्न र सुझावलाई समेटेर बिहीवारको बैठकले पारित गर्ने एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिवेदनमाथि छलफल गर्न बिभिन्न समूह बनाइएको र बिहीबार ११ बजे बस्ने बैठकमा निष्कर्ष प्रस्तुत हुने नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया